Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा साम्प्रदायिक हिंसा फैलिदैं, मस्जिद जलाएर इमामको हत्या

काठमाडौं ,१७साउन : भारतको मणिपुर राज्यमा झण्डै तीन महिनायता कुकी जनजाति र मैतेई समुदायबीच हिंस्रक द्वन्द्व चलिरहेको छ । क्रिश्चियन कुकी र हिन्दु मैतेईबीचको यस द्वन्द्वमा सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

मणिपुरको हिंसा टर्न नपाउँदै यतिबेला फेरि भारतकै हरियाणा राज्यमा पनि हिन्दु र मुस्लिम समुदायबीच अर्को हिंस्रक द्वन्द्व छेडिएको छ । एकपछि अर्को यस्तो अप्रिय घटनाक्रमले भारतमा साम्प्रदायिक हिंसाको आगो दन्किएको आभास भएको छ ।

गत सोमबार हरियाणाकाे नुह जिल्लामा हिन्दु राष्ट्रवादी समूहहरू बजरङ्ग दल र विश्व हिन्दु परिषद्ले आयोजना गरेको एउटा धार्मिक यात्राका क्रममा भिडन्त भएको थियो । धार्मिक यात्राका क्रममा स्थानीय मानिसहरूले धार्मिक यात्राका गाडीलाई ढुंगामुढा गरेपछि यो द्वन्द्व सुरु भएको हो ।

यतिबेला यो घटनामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने २० जना घाइते भएका छन् । हरियाणामा सुरु भएको द्वन्द्वका कारण हिन्दु समुदायको भिडले सोमबार राति नै दिल्लीनजिकै रहेको गुरुग्रामस्थित एउटा मस्जिदमा आगजनी गर्दै मस्जिदका इमामको हत्या गरिदिएका छन् । मस्जिदका इमाम मोहम्मद सादको हत्या भएको हो ।

सोमबारको द्वन्द्वपछि दुवै समुदायको भिडले दर्जनौँ सवारीसाधन र स्थानीय पसलहरूमा तोडफोडसमेत मच्चाएका छन् । देशमा साम्प्रदायिक हिंसाका घटनाहरू भड्किएसँगै विपक्षी पार्टीहरूले भारतीय जनता पार्टीको सरकारले देशमा शान्ति र स्थायित्व कायम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

दुई समुदायबीच हिंस्रक भिडन्त भएपछि यतिबेला हरियाणाका शहरमा कर्फ्यु लगाइएको छ । साम्प्रदायिक हिंसा फैलिएका स्थानमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ । सरकारले त्यहाँ बुधबारसम्म इन्टरनेट बन्द गरिदिएको छ ।

हरियाणामा सुरु भएको द्वन्द्वले भारतका मुस्लिम र हिन्दु समुदायबीच झनै खाडल खन्न सक्ने आशंका गरिएको छ । बीबीसीहिन्दी र शिलापत्रको सहयोगमा

Related posts

थाइल्यान्डमा राजाकाे आलाेचना गर्ने थाई नागरिकलाई ५० वर्षकाे जेल सजाय

MadhesKhabar

भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment