वीरगन्ज, ३ साउन: वीरगन्जको मुख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको कर्पाेरेट डेभ्लाेप्मेन्ट बैंक रहेको भवन हटाउन डोजर लगाइएको छ ।
वीरगन्ज सहरको मूख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको क्लासिक होटल रहेकाे भवन मंलगबारदेखि हटाउन सुरु गरिएकोमा बुधबारबाट कर्पोरेट बैंक रहेको भवन पनि हटाउन थालिएको हो ।
वीरगन्ज महानगरपालिकाले मुख्य नाला माथि बनेको दुबै संरचना हटाउन बुधबार ५ वटा डोजर लगाएको छ ।
मुलुकी देवानी संहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्था बमोजिम मुख्य नाला माथि बनेको संरचना हटाउन डोजर लगाइएको महानगरपालिकाले जनाएको छ ।
पटक पटक सूचना दिँदा पनि अटेर गरि अवैध रुपमा निर्माण गरिएको संरचना नहटाइएकाले बाध्य भएर महानगरले सार्वजनिक नाला माथिको संरचना हटाउन डोजर लगाउनु परेको महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए ।
महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरु हटाउँदै नाला सफाईलाई निरन्तरता दिँदै आएको छ ।
४० फिट चौडाईको मुख्य नालामाथि बनेको संरचनाका कारण वर्षातको पानी बग्न नसकी पूरा सहर नै डुबानमा परि नगरवासीको तथा महानगरको जनधनको अपुरणीय क्षति पुग्ने अवस्था देखिएकाले अवैध रुपमा निर्माण गरिएका ती सबै संरचना हटाउन महानगरले अभियान नै चलाएको मेयर सिंहले बताए । महानगरले यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचनाहरु भत्काएर हटाई सकेको छ ।
मालपोत ऐन २०३४ को दफा २४ मा सरकारी सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता वा आवाद गर्न गराउन नहुने र यदी कसैले कुनै पनि समयमा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ भन्ने व्यवस्था छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २(क) १ को ‘ट’ मा नगरपालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार महानगरलाई दिएको छ । त्यही अनुरुप महानगरले आदर्शनगरमा निर्माण भएको दुबै संरचना हटाउन डोजर लगाएको हो ।
अवैध संरचना खाली गराउन महानगरबाट गठित सार्वजनिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नंबर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा टोली खटिने गरेको छ ।

