मधेसखबर
वीरगन्ज ,१५ बैशाख : पर्सा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले बारा २ मा यसपटक इतिहासकै सबैभन्दा स्वच्छ र निष्पक्ष चुनाव भएकाे दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै सांसद यादवले यस्ताे दाबी गरेका हुन् । उनले भने, बारामा यसपालि जस्ताे निष्पक्ष र स्वच्छ चुनाव यसअघि कहिल्यैपनि भएकाे थिएन् ।
तर चुनाव हारेका केही दलका नेताले बारा २ मा भएकाे निर्वाचन बारे भ्रम छर्दै हिडेकाे यादवले बताए । जनमत पार्टीका अध्यक्ष एंव सांसद डा. सिके राउतले यसअघिको संसद बैठकमा बारा २ मा यसपालि सत्ताकाे लाठी र बन्दुककाे बलमा चुनाव गराएर जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जबरजस्ती जिताइएकाे आराेप लगाएका थिए ।
राउतकाे उक्त अभिव्यक्ति प्रति लक्षित गर्दै सांसद यादवले भने, चुनावमा हारेका एक पार्टीका नेताले बुथ कब्जा भयाे, फर्जी मतपत्र खसालियाे, धाँधली भयाे भनेर जुन आराेप लगाइ रहनु भएको छ त्याे आराेप बेबुनियाद छ, त्यहाकाे जनतालाई नै साेधे हुन्छ जनता धेरै खुशी छन् ।
सांसद यादवले बारा २ मा ३४ जना उम्मेदवारले चुनाव लडेकाे भएपनि जनमतका बाहेक अरु सबै उम्मेदवारले पराजय सहज रुपमा स्विकारी सकेकाे भएपनि एक जना मात्रैले हार स्विकार गर्न नसकेर नाटक गर्दै हिडेकाे बताए ।
यादवले बारा २ मा शान्तिपूर्ण र स्वच्छ निर्वाचन गराएकाेमा निर्वाचन आयाेग र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन पनि गरे ।