
मधेसखबर
वीरगन्ज,१८ मंसिर : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका बेला नेकपा एमालेसँग गरिएको सहकार्य सकिएको बताएका छन् । मंसिर ४ को निर्वाचनमा सत्तागठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । यादवले भने ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनाव सकिएसँगै एमालेसंगको सहकार्यको कोर्स पनि सकिएको छ ।’
यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा भने निर्णयमा पुगि नसकेको बताए । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताए ।
४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए । साभार : अनलाइनखबर

