Madhes Khabar
मधेस प्रदेश हेडलाइन

रौतहट २ मा ढल्यो अफताब आलमको विरासत : स्वतन्त्र उम्मेदवार साह विजयी

मधेसखबर
वीरगन्ज,०९ मंसिर : रौतहट क्षेत्र नम्बर २ मा ३१ वर्षपछि मोहम्मद अफताब आलमको परिवार भन्दा बाहिरका व्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२०४८ को आम निर्वाचनमा रौतहटको राजपुरमा शेख इद्रिस प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएपछि २०७४ सालसम्म यो क्षेत्रको राजनीति उनकै परिवारको सेरोफेरोमा केन्द्रित थियो ।

काका शेख इद्रिसपछि मोहम्मद अफताब आलम नेपाली कांग्रेसका नेताका रुपमा उक्त क्षेत्रबाट उदाए । आलमले रौतहट क्षेत्र नम्बर २ बाट २०५६ र २०६४ सालको निर्वाचनमा विजय हासिल गरे । २०७० को निर्वाचनमा उनी मुस्ताक आलमसँग पराजित भए । तैपनि यो क्षेत्रको राजनीति उनको पकडमै रह्यो । आलम पुनः २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

कार्यकाल बाँकी हुँदैमा राजपुर बमकाण्डका आरोपीका रुपमा आलम पक्राउ परे र हाल उनी पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

आलम परिवारको ३१ वर्ष लामो पारिवारिक पकडलाई यसपाालि स्वतन्त्र उम्मेदवार किरण साहले तोडदै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित भएका छन् । हाल कारागारमा रहेका अफताबले यसपटक आफ्ना छोरा फिरदोस आलमलाई कांग्रेसबाट उम्मेदवार बनाएका थिए । उनले २८ हजार २४८ मत पाए । निर्वाचित स्वतन्त्र उम्मेदवार साहले भने ३२ हजार ८४२ मत पाएका छन् ।

को हुन् किरण साह ?

२०७४ सालको निर्वाचनमा अफताब आलम निर्वाचित हुँदा किरण साह १ हजार ९६८ मतान्तरले पराजित भएका थिए । कांग्रेसबाट निर्वाचित आलमले १८ हजार ८३३ मत पाउँदा साहले १६ हजार ८६५ मत पाएका थिए ।

एमालेका नेता रहेका किरण साह, पूर्वमन्त्री प्रभु साहले एमालेको टिकट त्यागेपछि आफू पनि स्वतन्त्र उम्मेदवारकै रुपमा निर्वाचनमा सहभागी भएका थिए । रौतहट–२ मा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका उनी २०७४ को निर्वाचनमा पराजित भएदेखि नै अर्को चुनाव जित्ने तयारीमा लागेका थिए । निर्वाचित भएपछि साहले सबैले महसुस गर्ने गरी काम गर्ने बताए ।साभार : अनलाइनखबर

 

Related posts

रौतहटमा अत्याधिक गर्मीले रोडमै ढलेका एक पुरुषको मृत्यु

MadhesKhabar

पर्साकाे सिडिओ कार्यालयका अधिकृतकाे गाेली हानी हत्या गर्ने कुख्यात अपराधी गिरी १६ बर्षपछि पक्राउ 

MadhesKhabar

वीरगन्जलाई चिनाउने चिया, नास्ता पसलेहरु राष्ट्रियस्तरको युवा सम्मेलनमा सम्मानित

MadhesKhabar

Leave a Comment