Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आज चुनाव हुँदै

वीरगन्ज ,३१ असाेज :भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज(साेमबार) चुनाव हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् ।

अध्यक्ष पदमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । दुबै गान्धी परिवारसँग निकट मानिन्छन् ।

मतदान स्थानीय समय अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यसको नतिजा १९ अक्टोबरमा सार्वजनिक हुने समाचार एजेन्सी एएनआईले जनाएको छ ।

सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।

 

राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेका थिए । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिएकी थिइन् ।

सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहेकी छन् । उनी कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एक मात्रै अध्यक्ष हुन् । बीचमा छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिए पनि सम्हाल्न नसकेपछि उनी आफैं अन्तरिम अध्यक्ष बनेकी थिइन् । उनको नेतृत्वमा पार्टीले सन् २००४ र २००९ को आम निर्वाचन जितेको थियो ।

भारतीय कांग्रेसको इतिहासमा सन् १९४८ यता पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारले गरेको छ । गान्धी परिवारबाट कांग्रेसको नेतृत्व जवाहरलाल नेहरूले सन् १९५१ देखि १९५४ सम्म गरे । त्यसपछि सन् १९५९ मा इन्दिरा गान्धी करिब एक वर्ष पार्टीको अध्यक्ष बनिन् । त्यसपछि सन् १९७८ मा पुनः अध्यक्षमा दोहोरिएकी इन्दिराले सन् १९८३ सम्म पाँच वर्ष कांग्रेसको नेतृत्व सम्हालिन् ।

इन्दिरापछि राजीव गान्धी १९८५ देखि १९९१ सम्म कांग्रेसको अध्यक्ष बने । त्यसपछि १९९६ मा सीताराम केसरीले पार्टी अध्यक्ष जितेका थिए । तर १९९८ मा सोनियाले उनलाई हटाएर आफू अध्यक्ष बनेपछि लामो समय पार्टीको नेतृत्वमा बस्ने अवसर प्राप्त गरिन् । यसरी भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये ५ जना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षको दौरानमा करिब ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ ।

अहिले भने कांग्रेसभित्र र बाहिर गान्धी परिवारको क्रेज घट्दो छ । सोनिया लामो समय नेतृत्वमा हुँदा पनि पार्टी अध्यक्षका लागि कसैले दाबी गरेको थिएन । पछिल्लो समय पारिवारिक विरासत धान्ने आशा गरिएका राहुल आफैं राजनीतिक रूपमा त्यति सशक्त भएर उपस्थित हुन सकेका छैनन् ।

भारतको राजनीतिमा सत्तारुढ (भारतीय जनता पाटी) बीजेपीको विरोधी खेमाले राहुललाई नरेन्द्र मोदीसँग टक्कर लिने व्यक्तित्वका रूपमा देख्न चाहेपनि उनी त्यसमा काविल हुन सकेका छैनन् ।साभार :अनलाइनखबर

Related posts

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

MadhesKhabar

पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छोड्न उर्दी,सिन्धु नदिकाे पानी अब पाकिस्तानमा नदिने निर्णय

MadhesKhabar

थाइल्यान्डमा भेटियो एक करोड ५० लाख टन लिथियमको भण्डार

MadhesKhabar

Leave a Comment