
मधेसखबर
वीरगन्ज,२४ जेठ :वीरगन्ज महानगरपालिकाको कार्यालयले महानगर अहिले सम्मको अवस्था बारे जानकारी दिन श्वेतपत्र जारी गर्ने भएको छ ।
नयाँ जनप्रतिनिधीहरु चुनिएर आएपछि पहिलो पटक सोमबार बसेको कार्यपालिका (बोर्ड) बैठकले महागरपालिकाको अहिले सम्मको अवस्था बारे महानगरवासीलाइ जानकारी गराउन श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।
आफूले पदबहाल गर्दा अघि सम्मको महानगरको अवस्थाबारे नगरवासीलाई जानकारी दिन जरुरी ठानेर श्वेतपत्र जारी गर्न लागेको मेयर राजेशमान सिंहले जानकारी दिए ।उनले भने ‘अहिले महानगरको अवस्था सबैलाई थाहा नै छ, जता हेर्यो उतै बेथिती नै छ,त्यसैले यो कुरा सबैलाई जानकारी दिन श्वेत पत्र जारी गर्न लागेको हुँ ।’ श्वेत पत्रले महानगरको यथार्थ चित्रण गर्ने र आफूले त्यसलाई सुधार्दै नगरवासीको चाहना बमोजिम काम गर्न सहज हुने उनको भनाइ छ ।
श्वेत पत्रमा वीरगंज महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाको वर्तमान अवस्था लगायत विषय समेटिने सिंहले बताए ।
यस्तै सोमबार बसेको कार्यपालिका बैठकले नवनिर्वाचित मेयर सिंहले जेठ १२ गते पदभार ग्रहण गर्दा गरेका तीन वटा निर्णयलाई अनुमोदन पनि गरेको छ ।
वीरगन्जको घण्टाघर तथा पावरहाउस क्षेत्रको जीर्ण सडक मर्मत गर्ने निर्णय गरेका थिए । सडक विभागसंग अनुमति लिएर महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडकको घण्टाघरदेखि माइस्थान सम्मको सडक मर्मत गारिरहेको छ ।
बैठकले असार १० गतेभित्र महानगरको बजेट ल्याउन आवश्यक तयारीका लागि दुईवटा समिति समेत गठन गरेको छ । मेयरको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समिति र उपमेयर संयोजक रहने राजश्व परामर्श समिति समेत गठन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।

