बर्दिबास,१मंसिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महोत्तरी जिल्ला उप–सभापति चन्द्रकिशोर महतोमाथि महोत्तरी क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रमोद कुमार महतो लगायतका व्यक्तिहरूले हातपातको प्रयास, गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ।
रास्वपा महोत्तरीले प्रेस नोट जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटना बर्दिबासको हो। प्रतिनिधि सभा सदस्य महतोको निर्देशनमा घटना भएको आरोप लागेको छ। ‘संगठनको जिम्मेवार तहमा रहेका नेतृत्वमाथि जनप्रतिनिधिकै निर्देशनमा हातपातको प्रयास र दुव्र्यवहार भएको भन्ने विषय सामान्य घटना नभई संगठनको विधि, विधान, अनुशासन, मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहार हो,’पीडित समेत रहेका महोत्तरीका कार्यवाहक सभापति महतोले प्रेस नोट जारी गर्दै भनेका छन्,‘राजनीतिक शक्ति, पद र पहुँचको आडमा संगठनभित्रै जिम्मेवार नेतृत्वलाई धम्क्याउने, अपमानित गर्ने तथा भौतिक आक्रमणको प्रयास गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।’
महोत्तरी जिल्ला समिति यस्ता अराजक, अनुशासनहीन र दण्डनीय गतिविधिको घोर निन्दा एवं भत्र्सना समेत गरेको छ। ‘संगठन भनेको व्यक्ति विशेषको निजी सम्पत्ति होइन र कुनै जनप्रतिनिधि वा पदाधिकारीलाई संगठनको विधि, विधान र मर्यादाभन्दा माथि रहने छुट छैन,’जारी प्रेस नोटमा भनिएको छ,‘पद र शक्तिको दुरुपयोग गर्दै संगठनभित्र भय सिर्जना गर्ने तथा जिम्मेवार नेतृत्वमाथि दबाब र दुव्र्यवहार गर्ने कार्यलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन।’
घटनामा संलग्न रहेका सम्पूर्ण व्यक्तिहरूमाथि तत्काल निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी प्रमाणित हुनेहरूमाथि संगठनको विधान, नियम तथा अनुशासनअनुसार हदैसम्मको कारबाही गर्न महोत्तरी जिल्ला समिति सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
सोमबार महोत्तरी बर्दिबासमा सभामुख डिपि अर्यालको स्वागत कार्यक्रम कहाँ गर्ने ? भन्ने विषयबाट बर्दिबास रास्वपा दुई कित्तामा विभाजित भएपछी विवाद चर्किएको पार्टीका नेताहरु जनाएका छन्। प्रतिनिधि सभा सदस्य प्रमोद महतोसहितले सभामुखको स्वागत र सत्कारको कार्यक्रम गौतम होटलमा राखेका थिए भने अर्को समुहले विनायक होटलमा राखेका थिए। विवाद बल्झिएपछि गौतम र विनायक दुवै होटेलको कार्यक्रम रोकिएको थियो। अन्ततः भेटघाट कार्यक्रम बर्दिबास उद्योग बाणिज्य संघको सभा हलमा गरिएको थियो। सभामुखलाई खाना भने गौरिडाडाको खुकुरी होटलमा खाना खुवाइएको थिए । होटलको गेटमा विवाद भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
यता सांसद प्रमोद महतोले आफू र आफ्नो समुहबाट उप–सभापतिमाथि हातपात, गालीगलौज लगायत कुनै गतिविधि नभएको जनाएका छन्। जिल्लाको उपसभापतिमाथी भएको घटना के हो ? यस बिषय छलफल गर्न बर्दिबास उद्योगबाणिज्य संघमा बैठक बसिरहेको छ। बैठकमा रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मधेस प्रदेश महामन्त्री मनिष साह, केन्द्रिय सदस्य अंकित यादव लगायत छन्।साभारःअन्नपूर्ण पोष्ट

