वीरगन्ज,१मंसिरः छठ घाटमा चर्को स्वरमा डीजे बजाएर होडबाजी गर्ने कार्यमा संलग्न ५ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ कोनिया र वडा नम्बर १९ बर्वास्थित तिलावे नदीको दुई तिर बनाइएको छुट्टा छुट्टै छठघाटबीच गत आइतबार साँझ चर्को स्वरमा डीजे बजाएर होडबाजी गरिएको थियो ।
त्यहि घटनामा संलग्न ५ जना युवकहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का २२ वर्षीय रोशन पटेल, २५ वर्षीय चन्दन पटेल, वडा नम्बर १० का पृथ्वी कार्की, बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय दिनेश पटेल र वडा नम्बर २ का २८ वर्षीय मन्जुर हवारी रहेका छन् ।
दुवै छठघाटमा जडान गरिएका डीजे कम्पनिका सञ्चालक र कर्मचारीहरुलाई सोमबार बिहान छठघाटबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । साथै दुवै छठघाटमा जडान गरिएका डीजे सेटपनि प्रहरीले जफत गरेको मल्लले बताए ।
छठघाटमा ठुलो आवाजमा डीजे बजाएर सार्वजनिकस्थलमा अशान्ति मचाउने, ध्वनीप्रदुषण गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेर कानून बमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको मल्लले जानकारी दिए ।
वडा नम्बर १७ कोनिया र वडा नम्बर १९ बर्वास्थित छठघाटमा गत वर्षको छठ पूजामा पनि दुवै छठघाट बीच ठूलो आवाजमा डीजे बजाएर होडबाजी गरिएको थियो ।

