वीरगन्ज,३०कात्तिक:तराई मधेसको लोकआस्थाको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सोमबार बिहान सम्पन्न भएको छ। झिसमिसेमै जलाशय तथा नदी किनारका छठघाटमा पुगेका व्रतालुहरू उदाउँदो सूर्यको प्रतीक्षामा पानीमा उभिएका थिए। सूर्य उदाएपछि उनीहरूले विधिपूर्वक अर्घ्य दिएर यस वर्षको कात्तिक छठ पर्व सम्पन्न गरेका हुन्।
शनिबार ‘खरना’ विधिअन्तर्गत दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) तथा रोटी खाएका व्रतालु आइतबार दिनभर निर्जल र निराहार बसेर कठोर व्रतमा बसेका थिए। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले सोमबार बिहान उदाउँदो सूर्यको उपासना गरेपछि व्रत समापन गरेका हुन्।

