बारा,१३ कात्तिकःबाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा तीन वटा सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।
अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकैको सडकमा शुक्रबार दिउँसो डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल आपसमा ठोक्किँदा १० जना घाइते भएका हुन्।
अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौंडातर्फ जाँँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। त्यही क्रममा ईभी हाइसको पछाडि धरानबाट हेटौंडातर्फ जाँँदै गरेको अनटेस्ट मोटरसाइकलपनि ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
उक्त दुर्घटनामा ट्यांकरका चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवा निवासी ५० वर्षीय चेतनाथ खरेल, ईभी चालक कास्कीको पोखरा महानगरपालिका–५ निवासी ३८ वर्षीय आशिष मल्लसहित १० जना घाइते भएका हुन्।
अन्य घाइते हुनेहरुमा ईभी हाइसमा सवार पर्साको वीरगन्ज महानगरपालिका–२ निवासी ४५ वर्षीया समिना खातुन, उनकी छोरी करिब २५ वर्षीया सकिना खातुन, बाराको जितपुरसिमरा निवासी २२ वर्षीया आशिका श्रेष्ठ, कास्कीको पोखरा महानगरपालिका–१८ साराङकोट निवासी ४३ वर्षीय मनोज थापा क्षेत्री, भारत बिहारको पूर्वी चम्पारण निवासी ७० वर्षीय नवल किशोर साह, बाराको प्रसौनी गाउँपालिका–२ निवासी २४ वर्षीय कुनिल पण्डित कुम्हार,भारतको पश्चिम बंगालको हुग्ली निवासी २६ वर्षीया साबनी दास र मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका–१६ निवासी २४ वर्षीय सरोज गुभाजु पनि रहेका छन्।
घाइते सबै जनाको अवस्था सामान्य रहेको र उनीहरूको अमलेखगञ्जस्थित स्थानीय अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीले जानकारी दिए ।

