काठमाडौं,१८भदाैं:सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संगठनका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ।
बाढी तथा विपद्बाट प्रभावितको राहतका लागि सशस्त्र प्रहरी कर्मचारीको तलबबाट समेत निश्चित रकम कट्टा गरी कोषमा योगदान गर्ने निर्णय भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकको १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकको १० दिन, जुनियर अधिकृतको ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मको ५ दिन तथा सशस्त्र प्रहरी परिचरको ३ दिनको तलब बराबरको रकम कट्टा गरिनेछ।
यद्यपि, बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीका क्रममा ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको तलबबाट भने रकम कट्टा नगरिने भएको छ।
यसैगरी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रसेवकका तर्फबाट १५ लाख, सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम ५ लाख गरी कुल २५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।
बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि भएको छ। बाढीका कारण मृतक कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत दिइनेछ।
मृतक कर्मचारीले सशस्त्र प्रहरी कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋणसमेत मिनाहा गरिने भएको छ। मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णय गरिएको छ।
मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम दिने तथा बाढीमा मृत्यु भएका कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णयसमेत भएको छ।
त्यस्तै बाढीबाट प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक भौतिक क्षति भएका र घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने सशस्त्र प्रहरी बलले जनाएको छ।साभार: लाेकान्तर

