वीरगन्ज,९भदाैं:पर्साकाे वीरगन्जबाट प्रहरीले ठूलाे परिमाणमा लागू औषध ब्राउन सुगर(खैराे हेराेइन)सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साकै जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनीका ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन् ।
लागू औषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।
मंगलबार दिउँसो करिब ३ः३० बजे पर्साकाे वीरगन्ज महानगरपालिका–१५ स्थित बाइपास सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेका यादवलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनले लगाएको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकमा पाेका पारेर राखिएको ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यादवको साथबाट बा.१८ च ९००३ नम्बरको सेतो कारको साँचो समेत फेला परेपछि प्रहरीले वीरगन्ज महानगरपालिका–८ मा रोकी राखिएको उक्त कार पनि नियन्त्रणमा लिएको छ ।
बरामद लागू औषध र कारसहित पक्राउ गरिएका यादवलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

