उदयपुर,८भदाैं: उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए।
मदनभण्डारी राजमार्गको बेल्टार चतरा सडकखण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ५–१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो।
प्रहरी नायब उपरीक्षक बमका अनुसार अटोमा चालकसहित पाँच जना सवार रहेकामा सबै घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का अन्दाजी २८ वर्षीय ईन्द्र थापा, मोरङको विराटनगर महानगरपालिका–१२ का अजित गुरुङ र बेलका–५ का १८ वर्षीय रोशन मगर घाइते भएकाे प्रहरी नायब उपरीक्षक बमले बताए। घाइते तीनै जनाको धरानमै उपचार भइरहेको छ।
प्रहरीले बस र चालक बेलका नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

