वीरगन्ज,२१वैशाख:भन्सार बिन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण देशकै प्रमुख भन्सार वीरगन्ज भन्सार कार्यालयको कामकाज एक सातायता प्रभावित भएको छ ।
निजी क्षेत्रले सरकारको यो नियमप्रति आपत्ति जनाउँदै भन्सार बिन्दुमा भित्र्याइसकेको मालसामान पनि जाँचपास नगराएपछि सर्वाधिक राजश्व संकलन गर्ने वीरग भन्सार कार्यालयको राजश्व असूलीमा समेत व्यापक गिरावट आएको छ ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसीपी) संचालक कम्पनी टिआरएस हिमालयन लजि पार्कका प्रशासन प्रमुख गणश घिमिरेले आइसीपी परिसरमा मात्रै सोमबार साँझ ५ बजेसम्म करिब १ हजार ७ सय मालबाहक सवारीसाधन थन्किएर बसेको जानकारी दिए । ‘ दैनिक मालबाहक सवारीसाधनको संख्या थपिदै गएको छ, भारततर्फबाट बढी सवारीसाधन भित्रिन्छन् । तर त्यहीँ अनुपातमा यहाँबाट छुटदैनन्,’ उनले भने, ‘औद्योगिक कच्चा पदार्थ, इन्धन र एमआरपी नचाहिने केही बस्तुबाहेक अन्य बस्तु जाँचपास भएका छैनन्।’
यस्तै अवस्था भारततर्फ पनि रहेको घिमिरेले बताए । ‘भारतीय आइसिपी बाहिर लक्ष्मीपुरसम्मै आइतबार करिब ७ सय मालबाहक सवारीसाधन लाम लागेर बसेका थिए,’ उनले भने, ‘भारततर्फ आइसिपी परिसरमा पनि ठूलो संख्यामा नेपालतर्फ आउने मालबाहक साधन थन्किएका छन् ।’
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह बिष्टले सातायता भन्सार कार्यालयको राजश्व असूली पनि घटेको बताए । वैशाख महिनामा आइतबारसम्म यो भन्सारले १२ अर्ब २५ करोड रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको उनले जानकारी दिए । ‘वैशाखमा २३ अर्ब २४ करोड राजश्व संकलनको लक्ष्य छ,’ उनले भने, ‘आइतबारसम्म ५३ प्रतिशत मात्र असूली हुन सकेको छ ।’ आइतबार १७ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको थियो । सामान्य दिनमा यो भन्सारले ६० देखि ६५ करोड रुपैयाँ राजश्व संकलन गरिरहेको थियो ।
औद्योगिक कच्चा पदार्थ, बल्क आइटम, आयोजनाका सामान, डर्टी कार्गो, फलफुल, तरकारीबाहेकका बस्तु जाँचपास नभएको उनले बताए । नेपाल सरकारले २०८२ चैत २६ मा जारी गरेको सूचना अनुसार गत मंगलबारदेखि वीरगन्जलगायत देशभरका भन्सार नाकाबाट आयातित मालसामानको जाँचपास प्रभावित भएको छ ।
व्यवसायीहरूको छाता वीरगन्ज उद्योग वाणिज्य संघले सरोकारवालासँग पर्याप्त छलफल नै नगरी एकपक्षीय रूपमा एमआरपी लागू गर्ने निर्णय निजी क्षेत्र मैत्री नभएको भन्दै सरकारको यो कदमप्रति आपत्ति जनाएका छन्। शंकर आचार्य/कान्तिपुर

