वीरगन्ज,८ चैत : पर्साको जगरनाथपुर गाँउपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका आफ्नो पालिका विद्यार्थीहरुलाई विभिन्न सामग्री प्रदान गरेको छ ।
जगरनाथपुर गाँउपालिका–४ सण्ठीस्थित विद्यालयमा आइतबार शिक्षा शाखाले आयोजना गरेको एसईई परीक्षका विद्यार्थीहरुको बिदाई कार्यक्रममा गाँउपालिका अन्तर्गत रहेका तीन वटा माध्यमिक विद्यालयका एसईई परीक्षा दिन लागेका १ सय २० जना छात्र–छात्राहरुलाई टि–सर्ट, डायरी र कलम प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले एसईईका विद्यार्थीहरुलाई गाँउपालिकाको लोगो अंकीत टी–सर्ट, डायरी र कलम प्रदान गरे । चैत १९ गतेदेखि सुरु हुन लागेको यसवर्षको एसईई परीक्षामा सफलताको लागि विद्यार्थीहरुलाई शुभकामना दिदैं अध्यक्ष यादवले एसईईपछि भविष्यमा उच्च शिक्षा अध्ययनका क्रममा कुनैैपनि किसिमको समस्या परेमा आवश्यक समन्वय र सहयोगका लागि सिधै आँफुलाई वा प्रमुख प्रशासीकय अधिकृतलाई सम्पर्क गर्न आग्रहपनि गरे ।
कार्यक्रममा एसईईका विद्यार्थीहरुलाई गाँउपालिका अध्यक्ष यादव, उपाध्यक्ष बबीता सिंह क्षेत्री , प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव लगायतले खादा मला लगाएर विदाई गरेको गाँउपालिकाका शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहले जानकारी दिए ।
गाँउपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा शिक्षा समितिका सदस्य, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका , अभिभावक लगायतकाकोपनि सहभागिता थियो ।

