काठमाडौं,१७चैतः संयुक्त जनआन्दोलन समितिका जनकमान्डर बनाइएका व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको दाबी गरेका छन् । आफूलाई हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको उनको भनाइ छ ।
आइतबार दिउँसो मन्दिर अगाडि बसेर एउटा भिडियो सन्देश फेसबुकमा जारी गर्दै दुर्गा प्रसाईंले प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएको थाहा पाएकोले सुरक्षित हुन काठमाडौंकै एक मन्दिरमा बसेको बताएका छन् ।
‘म सुरक्षित ठाउँमा बसेको छु । म भाग्नलाई जन्मिएको होइन,’ उनले भनेका छन्, ‘म काठमाडौंमै छु, काठमाडौंकै एउटा मन्दिरमा बसेको छु,’ प्रसाईंले भनेका छन् ।उनले प्रहरीसंग माफीपनि मागेका छन् । ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् ।
‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडिओमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

