वीरगन्ज,२५भदौं : स्वस्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभरका सरकारी स्वास्थ्य संस्थामा अहिले जनशक्ति थप्न सक्ने अवस्था नरहेको बताएका छन् । मंगलबार वीरगन्जको नारायणी अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशको आर्थिक अवस्था कमजोर रहेकाले सरकारी अस्पतालमा अहिले जनशक्ति थप्न असम्भव रहेको बतााए ।
देशभर हाल ३२ हजार स्वास्थ्यकर्मी अपुग रहेको भएपनि मुलुकको आर्थिक अवस्थाका कारणले अहिले स्वास्थ्यकर्मी थप्ने अवस्था नरहेको उनले प्रष्ट्याए । उनले भने,‘देशैभरका अस्पतालमा स्वास्थ्यकर्मीको संख्या अपुग छ । त्यसले सेवा प्रवाहमा समस्यापनि भइरहेको छ । त्यसका कारण मेरोपनि चाहना त छ जनशक्ति थप्न पाए हुन्थ्यो । उपकरणहरु भरिभराउ गर्न पाए हुन्थ्यो ।तर राज्यको आर्थिक अवस्था कमजोर भएकाले अहिलेनै जनशक्ति थप्ने सम्भावना छैन ।’
उनले हाल उपलब्ध जनशशक्ति र उपकरणलाई नै भरपुर उपयोग गरेर सहज र गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल प्रमुखहरुलाई निर्देशन दिए । देशभरकै सरकारी अस्पतालको सेवा प्रभावकारी हुन नसकिरहेका कारण नागरिकमा सरकारी अस्पतालप्रति नकरात्मक सोच रहेको भन्दै उनले भने,‘सरकारी अस्पताल किन प्रभावकारी हुन सकिरहेका छैनन् ? के के मा सुधारको खाँचो छ ? त्यसको कारण पहिल्याउन जरुरी छ ।’
स्वास्थ्यमन्त्री पौडेलले सरकारी अस्पतालप्रति नागरिकमा रहेको नकरात्मक भाष्य चिर्दै अस्पतालको सेवालाई डिजिटलाइट र प्रविधियुक्त बनाउन निर्देशनपनि दिए ।
आँफु खादा र माला लगाउन मन्त्री बनेको नभई काम गर्न मन्त्री बनेको सुनाउँदै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई ५ लाख रुपैयाँ सम्म पुरयाउन आवश्यक रहेकोपनि बताए । उनले भने,‘ अहिले १ लाखको मात्रै स्वास्थ्य बिमा हुन्छ । जुन निक्कै अपुग छ । यसलाई कम्तिमापनि ५ लाखसम्म पुरयाउन जरुरी छ । त्यसका लागि गृहकार्य भइरहेको छ।’
यसका लागि राज्यकोषबाट तलबसुविधा लिनेहरुको तलबबाट कम्तिमा २ प्रतिशत रकम र स्वास्थ्य क्षेत्रको बजेटबाट केहि रकम बिमा कोषमा जम्मा गर्नसकियो भने स्वास्थ्य बिमाको रकम ५ लाखसहजै पर्याउन सकिने धारणा उनले राखे ।
सरकारले सात वटै प्रदेशमा एक एक वटा विशिष्टकृत अस्तपताल सञ्चालन गर्ने निर्णय गरेकोमा मधेस प्रदेशमा वीरगन्जको नाारायणी अस्पताल छनौटमा परेको उनले जानकारी गराए । क्यान्सरको शल्यकृया,मुटु रोगको शल्यकृया र अंग प्रत्यारोपण सेवा विशिष्टकृत अस्तपताल सञ्चालन गरिने उनले सुनाए
अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षता भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल,स्वास्थ मन्त्रालयको गुणस्तर तथा मापन शाखाका प्रमुख डा. मदनकुमार उपाध्याय, वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, कांग्रेसका क्षेत्रीय सभापति महम्मद सहाबुद्धिन, कांग्रेसका महानगरसभापति मणिन्द्रलाल नेपाली, नेताहरु मनोज यादव,नविन सिंह,दिलीपराज कार्की, रमेश यादव,रामनिवेश यादव,विकास तिवारी लगायतकोपनि सहभागीता थियो ।

