Madhes Khabar
समाचार

इँटाभट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता अफताब आलमका भाइ मेहताब आपराधिक गतिविधिमा अझै सक्रिय

मधेसखबर

वीरगन्ज,०१असार :जिउँदै इँटाभट्टामा मान्छे जलाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अफताब आलमका भाइ मोहम्मद मेहताब कारागारभित्रैबाट पनि आपराधिक गतिविधि गरिरहेका छन् । उनले रौतहटका एमाले नेता किरण साहलाई ज्यान मार्ने धम्की दिएको खुलासापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । साह मेहताबविरुद्धको मुद्दाका साक्षीको पक्षमा बोल्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा पाँचजनाको विशेष समिति गठन गरेको यसबारे अनुसन्धान गरिरहेको छ । एमाले नेता साहले मेहताबबाट ज्यान मार्ने धम्की आएको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले साहको सुरक्षाका लागि बडीगार्डसमेत खटाएको छ ।

रौतहटका एसपी विनोद घिमिरेले ज्यान मार्ने धम्की दिएको घटना बाहिरिएपछि अनुसन्धान सुरु गरिएको बताए । ‘मेहताब गौरस्थित कारागारमा छन् । उनले जेलभित्रैबाट ज्यान मार्ने षड्यन्त्र गरेको भन्दै हामीकहाँ निवेदन आएको छ । यसमा हामी संवेदनशील छौँ । घटनाको अनुसन्धान सुरु भइसकेको छ । केही दिनभित्रै तथ्य बाहिर आउला,’ उनले भने ।

साहले २७ चैत ०६४ मा रौटहटको राजापुरमा भएको विस्फोटका साक्षीको पक्षमा बोल्दै आएका छन् । निर्वाचन प्रभावित पार्ने उद्देश्यसहित आलमले बम बनाइरहेको ठाउँमा अघिल्लो साँझ विस्फोट भएको थियो । विस्फोटमा परी स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तरसहित अन्य युवाको समेत मृत्यु भएको थियो । त्यही  घटनाका अभियुक्तमध्येका एक हुन्– मेहताब । जिप्रका रौतहटमा परेको निवेदनअनुसार मेहताबले साहलाई मार्न जेलभित्रै कैद सजाय भुक्तान गरिरहेका नन्दु साह, छोटेलाल साह र सुरेन्द्र बैठालाई अह्राएका थिए ।

त्यही  घटनापछि सुरेन्द्रले जेलभित्रकै दुईवटा मोबाइल नम्बर प्रयोग गरी ज्यानको सुरक्षा गर्न भन्दै साहलाई फोन गरेका थिए । घटना लिक गरेको थाहा पाएपछि मेहताबले जेलभित्रकै अन्य कैदीबन्दी प्रयोग गरी छोटेलाललाई निर्घात कुटपिटसमेत गरेका थिए । घाइते छोटेलालको उपचार गर्न उनकी श्रीमतीले जिप्रका रौतहटमा निवेदनसमेत दिएकी थिइन् ।

‘मेहताबले मेरो ज्यान मार्न जेलभित्रै कैदीबन्दीलाई सुपारी दिएको मैले थाहा पाएँ । यस विषयमा जेलभित्रकै एक कैदीबन्दीले मलाई टेलिफोन गरे,’ साहले भने, ‘जसको रेकर्ड मसँग अझै छ । खबर लिक गरेको अभियोगमा मेहताबले एकजनालाई निर्घात कुटपिट गरेछ । त्योसमेत गोप्य राखिएको रहेछ । उनकी श्रीमतीको निवेदनपछि उनको उपचार हुने भएको छ ।’

त्यही मुद्दामा पुर्पक्षका लागि हाल नख्खु कारागारमा रहेका अफताबका चुनावी प्रतिस्पर्र्धी समेत हुन् एमाले नेता साह । २०७४ को संसदीय निर्वाचनमा उनी अफताबका निकटतम प्रतिद्वन्द्वी थिए । त्यसवेला साह जनता समाजवादी पार्टीबाट रौतहट– २ बाट निर्वाचनमा उठेका थिए । पछि उनी एमालेमा प्रवेश गरेका थिए ।

जिल्ला अदालत रौतहटको आदेशपछि अफताब आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् । तर, उनको आतंक अझै जारी छ । उनीविरुद्ध घटनामा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायणको कानुनी लडाइँ अझै पनि जारी छ । अर्का मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले भने आलमविरुद्धको बयान फेरेकी छिन् । बम विस्फोटको १२ वर्षपछि रौतहट प्रहरीले घटनालाई नयाँ ढंगले अनुसन्धान गर्‍यो । २६ असोज ०७६ मा आलम पक्राउ परेका थिए । साभारः′नयाँपत्रिका

Related posts

सामुहिक बलात्कारको आरोपमा धनुषाका एक वकिल पक्राउ

MadhesKhabar

स्व.पत्रकार नरेश सर्राफ तेस्रो स्मृति सभा गर्ने समाजवादी प्रेस संगठन पर्साको निर्णय

MadhesKhabar

हैजा प्रभावित वीरगन्जमा तत्काल जनशक्ति थप्ने खानेपानीमन्त्री यादव र स्वास्थ्यमन्त्री पाैडेलबीच सहमति

MadhesKhabar

Leave a Comment