
मधेसखबर
वीरगन्ज,१६जेठः खराब मौसमका कारण तारा एयरको विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिएका हुन् ।संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबार बसेको बैठकमा दुर्घनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ’राईट टर्न’ गर्नुपर्ने जहाजले ’लेफ्ट टर्न’ गरेर गएर पहाडको भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए । घटनाको जाँच–बुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्य÷तथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले बताए ।
विमान दुर्घटना भएको घटनास्थल जोमसोम विमानस्थलबाट आठ नटिकल माइल दुरीमा पर्छ । त्यो विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ ।
पोखराबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतवार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त अवस्थामा उक्त विमान भेटिएको थियो ।
यसैबिच घटनास्थलमा सेना र प्रहरीसहितको उद्धार टोलीले अहिले शव संकलन गरिरहेको भन्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले विमान दुर्घटना हुँदा ज्यान गुमाएका २२ जना मध्ये हालसम्म १६ जनाको शव फेला परेको जानकारी दिएका छन् ।
अझै ६ जनाको शव फेला पर्न नसकेको भन्दै उनाले अहिले पानी परिररहेका कारण शवको खोजी कार्य रोकिएको बताए । पानी पर्न रोकिएपछि फेरी शव खोज्ने काम शुरु गरिने उनले बताए । साभार : उज्यालो

