
क्रान्ति शाह
वीरगन्ज, २० बैशाख : वीरगन्ज महानगरको उपमेयरमा उम्मेदवारी दिएकी रम्भा मिश्राले महिलाहरुको अस्तित्व रक्षाका लागि पनि आफु चुनावी मैदानमा उत्रिएको बताएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विद्रोह गरेर स्वतन्त्र उम्मेवार बनेकी मिश्राले आफुले निरन्तर गर्दै आएको कामको मुल्यांकन गरेर वीरगन्जवासीले आफुलाइ जिताउनेमा विश्वस्त रहेको पनि बताएकी छन् ।
चुनाव चिन्ह गुलाफ पाएकी मिश्राले मधेसखबरसंगको कुराकानीमा उपमेयरको प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरुको तयारी नै नपुगेकाले आफनो जित सुनिश्चित रहेको दाबी पनि गरिन् ।
महानगरको उपमेयरमा मिश्रासंगै गठबन्धनबाट काँग्रेसका इम्तियाज आलम , एमाले लोसपा गठबन्धनबाट लोसपाका पुरुषोत्तमलाल झा , राप्रपाबाट विना जयसवाल गरि १० जनाले उम्मेदवारी दिएका छन् ।
मिश्राले भनिन्,‘ उपमेयरमा इम्तियाज जीको नाम नै सुनिएको थिएन , झा जी ले मेयरको तयारी गर्नु भएको थियो , राप्रपाकी विना जी नोमिनेसनको दुइ दिन मात्र राप्रपामा प्रवेश गर्नु भएको हो , त्यसैले उहाहरुको तयारी नै पुगेको छैन ।
तर आफु २०७४ को निर्वाचनमा उपमेयरमा सम्मानजनक मतका साथ पराजित भए पनि त्यहि बेला देखि यो निर्वाचनको तयारीमा लागेर निरन्तर जनताको माझमा रहेको मिश्राले बताइन् ।
स्वच्छ वीरगन्ज र समृद्ध वीरगन्ज आफनो मूल चुनावी एजेण्डा रहेको पनि उनले बताइन् ।
उपमेयरको स्वतन्त्र उम्मेदवार मिश्राले राजनीतिमा अहिले महिलाहरुको अस्तित्व संकटमा परेको भन्दै त्यसको जिम्मेवार दलहरु नै भएको बताइन् ।
राजनीतिमा लागेका महिलाहरुलाइ हतोत्साही पार्न र महिलाको सहभागीता शुन्य बनाउने षडयन्त्र स्वरुप दलहरुले गठबन्धनका नाममा पालिका प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाइ उम्मेदवार बनाएको मिश्राको धारणा छ ।

अवसर देखेर लोसपा नेताहरुले रयाल चुहाए – मिश्रा
मिश्राले भनिन्,‘ पर्साका लोसपामा पनि नेताहरुले पद र अवसरका लागि रयाल चुहाएर महिलाको हक खोसे , यो लोसपाकै लागि दुर्भाग्य हो ।
मनोनयन दर्ताको पहिलो दिन (बैशाख ११ गते)सम्म पनि लोसपाबाट उपमेयरको टिकट आफुले नै बनाउने निश्चित रहेका तर दोश्रो दिन अचानक लोसपा अध्यक्ष पुरुषोत्तम झाले आफै उपमेयरमा लड्ने भनेर उम्मेदवारी दर्ता गराएको मिश्रले बताइन् ।
त्यसपछि आफुले चुनाव नलड्ने मनशाय बनाएपनि लोसपाकै शुभेच्छुक नेता कार्यकर्ता र महिलाहरुले आग्रह गरेपछि आफुले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएको मिश्राले बताइन् ।
मिश्राले भनिन्‘ मैले लोसपाबाट राजीनामा दिए पनि सारा पार्टीका अधिकांश नेता कार्यकर्ताले मरो लागि भोट मागिरहेका छन् , जहा जहा जादै छु त्यहाबाट आशीर्वाद पाइरहेको छु , सबैको समर्थन देखेर म उत्साहित भएको छु ।

वीरगन्जमा लोसपाको अस्तित्व समाप्त भयो – मिश्रा
मिश्राले महिलाको हक खोस्ने पुरुषवादी नेताहरु हाबी रहेको लोसपाको अब वीरगन्जमा अस्तित्व नै समाप्त भएको जिकिर पनि गरिन् ।
उनले भनिन्,‘ आज सम्म मैले लोसपाबाट केहि लिएको छैन , बरु उल्टै जब जब आवश्यक परेको छ पार्टीलाइ उल्टै मैले नै दिएको छु ।
उपमेयरबाट उम्मेदवारी फिर्ता लिन लोसपाका शीर्ष नेताहरुले पटक पटक दबाब दिएको खुलाशा गर्दै मिश्राले भनिन्,‘ अहिले पनि त्यो पार्टीका नेताहरुले समर्थन गरिदिन फोन गरिरहेका छन् , तर म आफनो निर्णयमा अडीग छु किन कि मेरो उम्मेदवारी महानगरका सारा महिलाहरुको अस्तित्व रक्षाका लागि हो ।
आफुले लोसपा पार्टीबाट राजीनामा दिइसकेकाले अब त्यो दलसंग आफनो कुनै नाता नरहेको पनि उनले प्रष्ट पारिन् ।

