Madhes Khabar
समाचार

बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

बारा,३मंसिर:बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने स्कुटरमा सवार उनकी श्रीमती घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत उक्त स्थानमा बिहीबार दिउँसो करिब १२ः०५ बजे वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी करिब ६० वर्षीय निरबहादुर वाइबाको शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइएका वाइबालाई चिकित्सकले दिउँसो १ः२१ बजे मृत घोषणा गरेका थिए । उनको शव सोही अस्पतालमा रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।

उनका अनुसार स्कुटरको पछाडि सवार उनकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ । उनको हेटौँडा अस्पताल, मकवानपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रवक्ता घलेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनापछि प्रहरी चौकी अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश खत्रीको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो ।

ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी करिब ५० वर्षीय रमेश प्रसाईँ रहेका छन् । दुर्घटनामा संलग्न ईभी र स्कुटरलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

Related posts

वीरगन्जका पत्रकार राम सर्राफ राष्ट्रिय फोटो पत्रकारिता अवार्डबाट पुरस्कृत

MadhesKhabar

वीरगन्जबाट हुण्डीको ४१ लाख नगद सहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

सुकुम्बासीहरुलाई राखिएको होल्डिङ सेन्टरमा बाराका हिरालाल पासवानको मृत्यु

MadhesKhabar

Leave a Comment