वीरगन्ज,१३बैशाख:वीरगन्जका फोटो पत्रकार राम सर्राफले पाँचौँ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ मा मधेस प्रदेश फोटो पत्रकारिता अवार्ड जित्न सफल भएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालले शनिबर ललितपुरमा आयाेजना गरेकाे समारोहमा सर्राफलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
गुर्खाज फाइनान्सद्वारा प्रायोजित मधेस प्रदेश फोटो पत्रकारिता अवार्ड प्राप्त गरेपछि सर्राफले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताए । “यो अवार्ड मेरो मात्र नभई मधेसको समग्र फोटो पत्रकारिता क्षेत्रको सम्मान हो,” उनले भने ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सभामुख देवराज घिमिरेले फोटो पत्रकारितालाई लोकतान्त्रिक समाजको महत्त्वपूर्ण अङ्गका रूपमा व्याख्या गरे । उनले भने, “फोटो पत्रकारिताले देशको वास्तविक ऐना प्रस्तुत गर्छ र हजारौँ भ्रमात्मक सन्देशलाई तस्बिर मार्फत खण्डन गर्दै यथार्थ उजागर गर्ने काम गर्छ ।” उनले फोटो पत्रकारिताले प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै यस क्षेत्रका चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले फोटो पत्रकारहरूले अप्ठेरो परिस्थितिमा समेत निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्यको प्रशंसा गरे । “शब्दलाई बङ्ग्याउन सकिएला, तर फोटो पत्रकारिताले निष्पक्षतापूर्वक दुष्प्रचारलाई खण्डन गर्ने क्षमता राख्छ,” उनले भने । मन्त्री खड्काले जोखिमपूर्ण अवस्थामा समेत श्रव्य दृश्यसहितको सूचना सम्प्रेषण गर्ने फोटो पत्रकारहरूले आगामी पुस्तालाई ऊर्जा प्रदान गरेको बताए ।
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो । नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड नयाँ पत्रिकाका दीपेन्द्र ढुङ्गानाले, पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी कविता थापाले र सूर्य ज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड द हिमालयन टाइम्सका स्कन्द गौतमले प्राप्त गरे । यस्तै, डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड उदिप्त सिंह क्षेत्री, कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड नेपाल आर्मीका राजीव हेन्गाजु, एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड गोरखापत्र अनलाइनका मनोजरत्न शाही, राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड अन्नपूर्ण पोस्ट डटकमका अभिषेक महर्जन र ग्लोबल आइएमइ बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड अनलाइन खबर डटकमका चन्द्रबहादुर आलेले जिते ।
प्रदेश स्तरमा कोसी प्रदेशबाट रासस सङ्खुवासभाका सुजन बज्राचार्य, बागमती प्रदेशबाट राससका नवीन पौडेल, गण्डकी प्रदेशबाट परिचय डटकमका प्रेम थापा, लुम्बिनी प्रदेशबाट कान्तिपुर दैनिकका माधव प्रसाद अर्याल, कर्णाली प्रदेशबाट हिमालय टेलिभिजनका अमृत कुमार बुढाथोकी र सुदूरपश्चिम प्रदेशबाट लोकेश साउदले अवार्ड प्राप्त गरे ।
कार्यक्रममा वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई फोटो पत्रकारितामा जीवनभरको योगदानका लागि ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । यस्तै, संस्थाका आजीवन सदस्य स्वर्गीय चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो ।
अवार्डका लागि निर्णय गर्न वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तको संयोजकत्वमा शैलेन्द्र खरेल, सूर्य थपलिया, मेघेन्द्र प्रकाश गिरी, सौरगंगा दर्शनधारी र मनोज दाहाल सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो ।

