Madhes Khabar
राष्ट्रिय हेडलाइन

निजगढ-काठमाडौं ‘फास्ट ट्र्याक’ले लियो गति

काठमाडौं,३मंसिर: निजगढ-काठमाडौं द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङमा ब्रेक थ्रु भएको छ। राष्ट्रिय गौरवको आयोजना निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएसँगै राजधानी काठमाडौंलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने देशकै पहिलो द्रुतमार्ग निर्माणले थप गति लिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटरको महादेवटार सुरुङ ब्रेक थ्रु गरेका छन्। यस आयोजनाले काठमाडौं र तराई–मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरण, व्यापारिक गतिविधिको विस्तार र राष्ट्रिय एकता सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। द्रुतमार्गको केटीएफटी–१ निर्माण खण्डअन्तर्गत ४.३४५ किलोमिटर सडक संरचना निर्माण भइरहेको छ। इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) ठेक्का पद्धतिमा निर्माण भइरहेको यस खण्डमा दोहोरो चार लेनको सडक, छुट्टाछुट्टै दुईवटा सुरुङ बोर, चारवटा ठूला पुल तथा आवश्यक सडक र सुरक्षा पूर्वाधार समावेश छन्।

यस खण्डमा आवागमनका लागि बायाँ र दायाँ गरी दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ। बायाँ बोर ३.४८६ किलोमिटर र दायाँ बोर ३.४२२ किलोमिटर लामो छ। दुवै सुरुङको भित्री क्लियरेन्स ११ मिटर चौडा र पाँच मिटर अग्लो रहने प्राविधिक विवरणमा उल्लेख छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवका यो आयोजनाअन्तर्गत रहेको मकवानपुर भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेव सुरुङको जोडी सुरुङमध्ये सबैभन्दा लामो ३.४२२ मिटर लामो रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङ राष्ट्रपति पौडेलबाट ब्रेक थु्र भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका सहायकरथी राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार बायाँ बोर ब्रेक थ्रु भइसकेको छ।

 

छुट्टाछुट्टै बोर निर्माणले दुईतर्फी सवारी आवागमन व्यवस्थापन र सुरक्षालाई सहज बनाउनेछ। आयोजनाअन्र्तगत ७ स्थानमा सुरुङ छन्। जसको कुल लम्बाइ ११.२ किलोमिटर छ। निर्माणाधीन ७ स्थानका १४ वटा सुरुङहरूमध्ये हालसम्म धेद्रे, लेनडाँडा र महादेवटार सुरुङमार्गका ६ वटा सुरुङहरू खन्ने काम सकिएको छ। अन्य ४ स्थानका ८ वटा सुरुङहरू निर्माणाधीन रहेका छन्।

महादेवटार सुरुङका दुवै छेउमा दुई–दुईवटा गरी चारवटा ठूला पुल निर्माण गरिनेछ। ती पुलका छुट्टाछुट्टै डेकको लम्बाइ क्रमशः २००, २००, ४०४ र ४३० मिटर छ। पुलको समग्र डेक चौडाइ १२.८० मिटर रहनेछ। बाँकी करिब ५४८ मिटर खण्डमा सडकको सबग्रेड तथा पेभमेन्ट निर्माण गरिनेछ।
आयोजनामा सुरुङ र पुल निर्माणसँगै सडकको आधार संरचना, कालोपत्रे, प्रकाश व्यवस्था, इलेक्ट्रो–मेकानिकल उपकरण जडान, ट्राफिक सुरक्षा प्रणाली र सुरुङ व्यवस्थापन भवन निर्माणसमेत समावेश छन्। सुरुङ सञ्चालनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय संरचनासमेत निर्माण गरिँदैछ। ब्रेक थु्र समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि नेपालको यातायात प्रणालीमा आमूल परिवर्तन आउने बताए।

‘नेपाली सेनाले विकट भौगोलिक अवस्था, जटिल भूगर्भिक बनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका पूर्वाधार निर्माणमा प्रदर्शन गरेको दक्षता, कार्यकुशलता र समर्पण प्रशंसनीय छ,’ उनले भने। द्रुतमार्गको ट्रयाक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ तथा पुल निर्माणसम्म नेपाली सेना अहोरात्र खटिएको उनको भनाइ छ।

राष्ट्रपतिले आधुनिक प्रविधिमा आधारित ७१ किलोमिटर लामो द्रुतमार्ग निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी उल्लेखनीय रूपमा घट्ने बताए। यसबाट इन्धन खपत कम हुनुका साथै सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा समेत बचत हुने राष्ट्रपतिको विश्वास छ। द्रुतमार्गले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनुका साथै पर्यटन, व्यापार, पारवहन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

द्रुतमार्गको आर्थिक महत्त्वबारे टनेल इन्जिनियर निर्मलमणि जोशीले पनि यसलाई तराई र काठमाडौंबीचको व्यापारिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा व्याख्या गरे। उनका अनुसार हाल पृथ्वी राजमार्ग हुँदै तराईबाट काठमाडौं आउन करिब ६ देखि ७ घण्टा लाग्ने गरेकोमा फास्ट ट्र्याक सञ्चालनमा आएपछि करिब दुई घण्टामै यात्रा पूरा गर्न सकिने अपेक्षा छ।

द्रुतमार्ग सञ्चालनमा आएपछि तराईमा उत्पादन हुने तरकारी, फलफूल, खाद्यान्न तथा अन्य कृषि उपज काठमाडौंको बजारमा छिटो पुर्‍याउन सकिनेछ। ढुवानीमा लाग्ने समय र लागत घट्दा किसान तथा उत्पादकले बजारमा सहज पहुँच पाउनेछन् भने उपभोक्ताले पनि ताजा वस्तु प्राप्त गर्न सक्नेछन्। यसले उत्पादन, वितरण र बजारबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। राष्ट्रपति पौडेलले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी र सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए। आयोजनाको स्थलगत अवलोकनबाट यसको सफल कार्यान्वयनप्रति आफू विश्वस्त भएको उल्लेख गर्दै उनले निर्माणमा संलग्न सबै पक्षलाई प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि वाङ झीले केटीएफटी–१ खण्डको निर्माण सुरु भएदेखि नै निर्माणकर्मीहरूले विभिन्न चुनौती सामना गर्दै काम अघि बढाएको बताए। जटिल भूगर्भीय अवस्था, वर्षायाममा निर्माण गर्नुपर्ने कठिनाइ, सुरक्षा तथा गुणस्तर नियन्त्रणजस्ता चुनौतीका बाबजुद निर्माण टोलीले सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ। निर्माण योजनालाई आवश्यकताअनुसार परिमार्जन गर्दै प्राविधिक कठिनाइ र निर्माण जोखिम समाधान गरिएको उनले बताए। निर्धारित गुणस्तर र परिमाण सुनिश्चित गर्दै सुरुङको सुरक्षित ब्रेक थ्रु गर्न सफल भएको उनको भनाइ छ।सुरेन्द्र काफ्ले/अन्नपूर्ण पाेष्ट

Related posts

बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई समूहबीच ढुंगा हानाहान

MadhesKhabar

छठअघि सिर्सिया नदी सफा गरिँदै, प्रदूषण फैलाउने १२ उद्योगलाई १ करोड २० लाख जरिवाना

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो

MadhesKhabar

Leave a Comment