
बारा,१ मंसिरःबाराको निजगढमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन्। मृत्यु हुनेमा बाराकै कोल्हवी नगरपालिका–७ दोधर्पाका २४ वर्षीय राहुल सहनी रहेका छन् ।
गत आइतबार साँझ निजगढ नगरपालिका–११ बम्जन टोलस्थित तपस्या स्थलको भित्री सडकखण्डमा रतनपुरबाट कोल्हवीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक कोल्हवी नगरपालिका–७ दोधर्पाका २३ वर्षीय जङ्गी सहनी र त्यसको पछाडि सवार २४ वर्षीय राहुल घाइते भएका थिए।
गम्भीर घाइते राहुललाई सुरुमा निजगढस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जको गण्डक हस्पिटलमा पठाइएकोमा उपचारकै क्रममा राहुलको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।
घलेका अनुसार दुर्घटनाका बेला मोटरसाइकल चालक जङ्गी र पछाडि सवार राहुल दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ। घटनापछि प्रहरीले मोटरसाइकल चालक जङ्गी सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ।

