Madhes Khabar
राजनीति हेडलाइन

बारामा जसपा नेपालका कार्यकारिणी सदस्य गिरी कांग्रेसमा प्रवेश, गगन थापाले गरे पार्टीमा स्वागत

बारा,१मंसिरःजनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य घनश्याम गिरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।बाराको सिमरामा सोमबार नेपाल कांग्रेसको क्षेत्रीय कार्य समितिले आयोजना गरेको कार्यक्रममा गिरीसहित विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।कार्यक्रममा कांग्रेस सभापति गगन थापाले गिरीसहित नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

२०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट प्रदेशसभा निर्वाचन क्षेत्र ४ (१) का उम्मेदवार बनेका गिरीले सात हजार ३८६ मत प्राप्त गरेका थिए । राजपा पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) हुँदै जसपा नेपालमा समाहित भएको थियो । गिरी हालै जसपा नेपालको कार्यकारिणी सदस्यमा मनोनित भएका थिए ।

गिरीसँगै मधेस प्रदेश सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिका–१० का पूर्ववडाध्यक्ष सरोजकुमार राउत र वडा नम्बर ८ का पूर्ववडाध्यक्ष रामबाबु राउत कुर्मी पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

राउत यसअघि जसपामा समाहित हुनुअघि लोसपा नेपालको जीतपुरसिमरा नगर अध्यक्ष थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा राजपाबाट ५५० मत प्राप्त गर्दै वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, २०७९ सालको निर्वाचनमा लोसपाबाट उम्मेदवार बनेका उनी तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार सञ्जयप्रसाद पटेलसँग पराजित भएका थिए ।

त्यस्तै, कुर्मी पनि २०७४ सालको निर्वाचनमा राजपाबाट ७२१ मत प्राप्त गर्दै वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा लोसपाबाट उम्मेदवारी दिएका उनी नेकपा एमालेका शिवशंकरप्रसाद महतो कोइरीसँग पराजित भएका थिए । पछिल्लो समय नेकपा एकीकृत समाजवादी र नेकपा एमालेसँग नजिकिएका कुर्मी पनि अहिले कांग्रेसमा प्रवेश गरेका हुन् ।

यसैगरी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव तथा जसपा नेपालका जीतपुरसिमरा नगर सचिव प्रकाश गिरी पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनी घनश्याम गिरीका छोरा हुन् ।

क्षेत्र नम्बर ४ का कांग्रेसका क्षेत्रीय सभापति लोकेश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा पूवमन्त्री फरमुल्लाह मन्सुर,कांग्रेस केन्द्रीय सदस्यहरू शोभाकर पराजुली, ममता शर्मा,मेघा शाही, संविधानसभा सदस्य मधु शाही, बारा जिल्ला सभापति मनोज भट्ट लगायतकाको पनि उपस्थिति थियो ।

Related posts

श्रीपन्चमीमा भाथा धामको दुधेश्वरनाथ महादेव मन्दिरमा हजारौं भक्तजनहरुले चढाए जल

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी परेकोमा ३२ वटालाई स्पष्टीकरण

MadhesKhabar

वीरगन्जमा दुई बसमा आगलागी प्रकरणमा एसपी भन्छन् : बसका साहुलाई प्रहरीले पक्रेको छैन

MadhesKhabar

Leave a Comment