वीरगन्ज, ३०कात्तिक:वीरगन्ज-१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा साेमबार विराट कुस्ती (दंगल) प्रतियोगिता सम्पन्न भएको छ।उक्त कुस्ती प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री प्रदीप यादवले गरेका थिए।
इनर्वा महावीर मन्दिर संरक्षण समाज, पर्साद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री यादवले कुस्ती केवल शारीरिक बल प्रदर्शन गर्ने खेल मात्र नभई अनुशासन, साहस, धैर्य र आत्मविश्वासको प्रतीकसमेत रहेको बताए।
उनले मधेस प्रदेशमा कुस्ती खेलको आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान रहेको उल्लेख गर्दै गाउँघरका अखडा, पहलवानहरूको मेहनत र दंगल प्रतियोगिताले पुस्तौँदेखि यस परम्परालाई जीवन्त राख्दै आएको बताए।
परम्परागत कुस्ती खेलको संरक्षण तथा प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ थियो। साथै, युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न र स्थानीय स्तरमा कुस्तीको विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता सुरेश प्रसाद यादवले गरेका थिए भने विशिष्ट अतिथिका रूपमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गढ़ी,वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह तथा वीरगन्ज-१६ का वडाध्यक्ष पशुराम चौरसिया लगायतकाको पनि उपस्थिति रहेको थियो।

