Madhes Khabar
समाचार

गाडीबाट कुखुरा लुटिएकाे प्रकरणमा पर्सा कुखुरा व्यवसायी संघको खण्डन, आरोप निराधार भएको दाबी

वीरगन्ज,१५असाेज:पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको पर्सा ग्रामीण कुखुरा व्यवसायी संघले दाबी गरेको छ।

आर्या फ्रेस हाउस एण्ड सप्लायर्सका सञ्चालक फिरोज अन्सारीले मंगलबार राति पर्साको धोबिनी गाउँपालिका–३, गुलरियास्थित क्यामुदिन पोल्ट्री फर्मका सञ्चालक क्यामुदिन मियाँले आफ्नो चालकबाट कुखुरा र रकम लुटेको आरोप लगाउँदै बुधबार पत्रकार सम्मेलन गरेका थिए।

त्यसको खण्डन गर्दै संघले बिहीबार जिल्ला समन्वय समिति पर्सा परिसरमा पत्रकार सम्मेलन गरी उक्त आराेप निराधार भएको दाबी गरेको हो।

संघका अध्यक्ष देवेन्द्र प्रसाद आजादका अनुसार क्यामुदिन मियाँले फिरोज अन्सारीबाट कुखुरा बेचे बापतको करिब साढे ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी थियो। पटक–पटक रकम माग्दा समेत आलटाल गरेपछि बाध्य भएर गाडी रोकी कुखुरा मात्र झारिएको उनको दाबी छ।

“क्यामुदिन मियाँले फिरोजसँग साढे ६ लाख रुपैयाँ कुखुराको बाँकी रकम लिनुपर्ने छ। पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेपछि बाध्य भएर गाडी रोकेर कुखुरा मात्र झारिएको हो,” अध्यक्ष आजादले भने।

संघले फिरोज अन्सारीमाथि विभिन्न किसान तथा व्यवसायीको २५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको आरोपसमेत लगाएको छ। अध्यक्ष आजादले आफ्नो करिब १५ लाख रुपैयाँ, बहुदरमाईका सोनम फ्रेस हाउसका सञ्चालक अनिल प्रसाद यादवको ९४ हजार, वीरगन्ज–२७ घुर्मीका दाना डिलर मनोज पटेलको २ लाख ५० हजार, वीरगन्ज–१९ विन्दवासिनीका अनिश सप्लायर्सका सञ्चालक रामअयोध्या कलवारको ४० हजार र आसवारीका पिन्टु पटेलको २ लाख रुपैयाँलगायत रकम बाँकी रहेको दाबी गरे।

संघका अनुसार रकम असुलीका लागि पटक–पटक सम्पर्क गर्दा पनि अन्सारी सम्पर्कमा नआएपछि व्यवसायी तथा किसानहरूले गाडी रोकेर कुखुरा झारेका हुन्।

गाडी रोक्नु र कुखुरा नियन्त्रणमा लिनु कानुनी रूपमा उचित नभए पनि घटनाबारे इलाका प्रहरी कार्यालय जानकीटोला लाई जानकारी गराई गाडी बुझाउन खोजिएको संघको दाबी छ। प्रहरीले गाडी नबुझेपछि चालकले क्यामुदिनको फर्म अगाडि गाडी पार्क गरेर वीरगन्ज फर्किएको र त्यसपछि अन्सारीले पत्रकार सम्मेलन गरी लुटपाटको आरोप लगाएको संघको भनाइ छ।

घटनाका सम्बन्धमा दुवै पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। संघले इलाका प्रहरी कार्यालय पोखरियाको रोहबरमा दुवै पक्षबीच छलफल गराई विवाद समाधानका लागि पहल भइरहेको पनि जनाएको छ।

Related posts

बाराको टाँँगीयाबस्तीका तामाङ आफनै घरबाट लागू औषधसहित पक्राउ

MadhesKhabar

काका ठेकेदार, भतिज ईन्जिनियर : गुणस्तरहीन काम रोक्न माग गर्दै स्थानीयको विरोध

MadhesKhabar

जसपाबाट मेयरको उम्मेदवार राजेशमान पक्का,उपेन्द्र पनि वीरगन्ज आउदै

MadhesKhabar

Leave a Comment