बारा,१५असाेज:हालैको प्राकृतिक विपत्ति, बाढी र पहिरोका समाचारका कारण भारतीय पर्यटकको आगमन सुस्ताएपछि सरकारी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीले सीमामै पुगेर ‘कलिङ नेपाल’ अभियान थालेका छन् । एक महिनायता स्थलमार्ग हुँदै नेपाल भित्रिने भारतीय पर्यटकको संख्यामा भारी गिरावट आएपछि पर्यटकलाई ‘नेपाल घुम्न सुरक्षित छ, स्वागत गर्न हामी आतुर छौं,’ भन्दै विश्व पर्यटन दिवसको अवसर पारेर नाट्टा मधेस प्रदेश, पर्यटन विकास कार्यालय वीरगन्ज तथा बारा–पर्साका होटल तथा पर्यटन व्यवसायीले वीरगन्ज नाका (बाेर्डर)मा ‘कलिङ नेपाल’ नाराको सन्देश अभियानका रूपमा प्रस्तुत गर्न थालेका हुन् ।
‘नेपालको पर्यटकीय वातावरण सुरक्षित रहेको र नेपाली पाहुनाको स्वागतमा सधैं समर्पित छ भन्ने अनुभूति दिलाउन निजी क्षेत्रका पर्यटन व्यवसायीले सीमामै उत्साहजनक सहभागिता देखाई भारतीय पाहुनालाई खादा, रुद्राक्ष माला र परम्परागत न्यानो आतिथ्यता प्रस्तुत गरेका छन्,’ मधेस प्रदेश पर्यटन विकास कार्यालय वीरगन्जका प्रमुख अरविन्द यादवले भने, ‘नाट्टाका साथीहरू, होटल तथा पर्यटन व्यवसायीले सीमाबाटै ‘कलिङ नेपाल’ अभियानका रूपमा प्रस्तुत गरेर फेरि मधेसको पर्यटन लयमा फर्काउने प्रवर्धनमा जुट्नुभएको छ ।’
एक महिनादेखि भारतीय तथा तेस्रो मुलुक हुँदै नेपाल भित्रिने पर्यटकमा व्यापक कटौती रहेको व्यवसायी बताउँदै आएका छन् । आइतबार पर्यटन दिवसको अवसरमा नेपाल प्रवेश गर्दै गरेका केही भारतीय पर्यटकलाई सीमामा पर्यटक प्रहरी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी तथा पर्यटन मन्त्रालयअन्तर्गतका कर्मचारीले सम्मान र आतिथ्यता प्रकट गरेका छन् । नाकामा ओर्लिनेबित्तिकै अभियानकर्ताबाट पाएको अनपेक्षित सम्मान र न्यानो आतिथ्यताबाट भारतीय पर्यटक निकै हर्षित बनेका थिए ।
स्वागतपछि आफ्नो खुसी व्यक्त गर्दै भारतको उत्तर प्रदेशबाट परिवारसहित नेपाल आएका रामेश्वर दुबेले भने, ‘नेपाल केवल छिमेकी मुलुक मात्र होइन, यो ईश्वरले सुम्पिएको प्रकृतिको एक अद्वितीय र सुन्दर उपहारको देश हो । हालैका बाढी–पहिरोका खबरले केही आशंका उब्जाएको भए पनि यहाँ आइपुग्दा वातावरण पूर्ण रूपमा सुरक्षित र उत्साहजनक पायौं । नेपालीको आत्मीयतामा रम्न पाउने हुँदा हामी आनन्दित बनिरहेका छौं ।’
मधेस प्रदेशको पर्यटकीय व्यापारमा भारतीय पर्यटकको भूमिका अग्रस्थानमा रहेको छ । धार्मिक पर्यटन र बजारमा भारतीयको व्यापक सहभागिता हुने गरेको छ । यहाँका होटल, क्यासिनो, सहर, बजार तथा पर्यटकीय क्षेत्रमा चहलपहल हुने गरे पनि एक महिनायता हालैको प्राकृतिक विपत्ति, बाढी र पहिरोका कारण स्थलमार्गबाट पर्यटकको कमी हुँदा ८० प्रतिशतले व्यापार घटेको पर्यटन व्यवसायीको अनुमान रहेको छ ।
‘बाढीपहिरोका नकारात्मक समाचार फैलिँदा सीमावर्ती भारतीय पर्यटकको आगमन घटेपछि हामीले अहिले नेपालको अवस्था पूर्ण रूपमा सामान्य र सुरक्षित रहेको उद्घोष गर्न सीमामा अभियान थालेका हौं,’ नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले भने, ‘नेपाल सधैं भारतीय पर्यटकलाई आफ्नै परिवारका सदस्यझैं स्वागत गर्न आतुर छ । उहाँहरूको सुरक्षा र सुविधाका लागि हामी प्रतिबद्ध रहेको सन्देश पुर्याउन नै यो अभियानको मूल उद्देश्य रहेको छ ।’
पर्यटक प्रेरित गर्न व्यवसायीको सहभागितामूलक यस्ता गतिविधिले बाढी–पहिरोपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुन: नयाँ गति दिने र भारतीय पर्यटकलाई निर्धक्क भई नेपाल भ्रमणमा आउन ठुलो टेवा पुग्ने विश्वास कार्यक्रममा उपस्थित सहभागीले गरेका छन् ।साभार:काराेबार

