वीरगन्ज,१४असाेज:जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत महिला प्रहरी र प्रहरी हिरासतमा रहेका महिला थुनवाहरुकाे नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रभु अस्पताल र जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको संयुक्त सहकार्यमा महिला प्रहरी तथा महिला थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको हाे।
महिलाको स्वास्थ्यलाई प्राथमिकता दिँदै पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी विशेष सचेतना तथा स्वास्थ्य परीक्षण गरिएको डाक्टर लक्ष्मी थापा गुप्ताले जानकारी दिइन्।महिलामा देखिन सक्ने विभिन्न स्त्रीरोगसम्बन्धी समस्याहरू, क्यान्सरका प्रारम्भिक लक्षण, समयमै परीक्षण गराउनुपर्ने आवश्यकता तथा रोकथामका उपायहरूबारे परामर्श समेत दिइएको उनलेे बताइन्।
प्रहरीहरू आफैंमा चौबिसै घण्टा व्यस्त रहने र अझ समाजको शान्ति सुरक्षा कायम राख्न निरन्तर खटिनुपर्ने बाध्यताका कारण महिला प्रहरीहरूले आफ्नो स्वास्थ्यका लागि समय निकाल्न कठिन हुने यथार्थलाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरिएको भन्दै उनले कार्यक्षेत्रमै सहज ढंगले स्वास्थ्य जाँच गराई उनीहरूलाई स्वास्थ्यप्रति सचेत गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको बताइन्।
स्वास्थ्य परीक्षण कार्यमा प्रभु अस्पतालकी नर्सिङ निर्देशक सरिता रम्तेल, प्राविधिक सन्जित साह तथा फार्मेसिस्ट मिखा श्रेष्ठको टोलीले प्रत्यक्ष सेवा प्रदान गरेको थियो।
दिलीपराज कार्कीको संयोजनमा सम्पन्न उक्त शिविरमा पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको पनि उपस्थिति रहेको थियो।

