Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरको बजेटमा संशोधन :मेयर सिंहले विशेष नगरसभा गरेर ल्याए नयाँ बजेट

वीरगन्ज,१४ असोजः मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷२०८४ को बजेट संशोधन गरि २१ करोड रुपैयाँ घटाएको छ ।

बुत्रबार आयोजित वीरगन्ज महानगरपालिकाको २१ औं विशेष नगरसभामा मेयर राजेशमान सिंहले यसअघि १० असारमा सम्पन्न २० औं नगरअधिवेशनले ल्याएको बजेटमा संशोधन गरि त्यसमा २१ करोड रुपैयाँ घटाएर नयाँ बजेट ल्याएका हुन् ।

यसअघि महानगरका मेयर सिंह निलम्बनमा रहेका बेला १० असारमा कार्यवाहक मेयर (हालका उपमेयर) इम्तियाज आलमको सभाध्यक्षतामा सम्पन्न २० औं नगरसभाले चालू आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

तर विशेष अदालतबाट सफाई पाएपछि तीन महिना पश्चात असोज ३ गतेदेखि पुन मेयर पद सम्हालेका सिंहले बुधबार २१ औं विशेष नगरसभा गरेर १० असारको बजेटमा संशोधन गरि चार अर्ब २१ करोड ३४ लाख ६९ हजारको बजेट ल्याएका हुन् ।

बुधबारको विशेष नगरसभामा मेयर सिंहले प्रस्तुत गरेको संशोधित बजेटमा चालु आर्थिक वर्षका लागि संशोधित कुल ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार विनियोजन गरिएको छ उल्लेख छ। जसमध्ये चालु खर्चतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार अर्थात ५६ प्रतिशत,पुँजिगत खर्चतर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार अर्थात ४३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७ करोड अर्थात् १ प्रतिशत रहेको उल्लेख छ।

संशोधित बजेटमा चालु आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतहरु मध्ये आन्तरिक राजस्वबाट १ अर्ब २७ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख ,संघीय राजस्व वाँडफाँडबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व वाडँफाडबाट १ करोड ६७ लाख १४ हजार, घर जग्गा रजिष्ट्रेशन शुल्क वापत ४५ करोड र नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ ।

महानगरको आन्तरिक राजस्व परिचालनमा आएको संकुचन तथा वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्रक्षेपण अनुसार स्रोत प्राप्ति हुन नसकेको र अनिवार्य चालु खर्चमा बृद्धि भएका कारणले बजेट संशोधन गर्न बाध्य हुनु परेको मेयर सिंहले बताए ।

विशेष नगरसभामा संशोधित बजेट प्रस्तुत गर्दै मेयर सिंहले घण्टाघर नजिकै निर्माणाधिन विपि उद्यान पाकमा वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तार गर्दै सुरक्षित, प्रविधिमैत्री र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरी चालु आर्थिक वर्षभित्रै सन्चालनमा ल्याईने बताए।

यसैगरि वीरगन्ज महानगरलाई रात्रिकालीन समयमा सुरक्षित र सौन्दर्यपूर्ण बनाउन विगतदेखि सञ्चालित उज्यालो वीरगन्ज अभियानलाई थप प्रभावकारिताका साथ निरन्तरता दिइने भन्दै उनले यसका लागि महानगरका मुख्य सडक, चोक तथा भित्री बस्तीहरूमा दक्ष स्मार्ट एलइडी तथा हाइमास्ट बत्तीहरूको नयाँ जडानलाई तीव्रता दिदैं शहरको कुनैपनि क्षेत्र अन्धकारमा रहन नदिने प्रतिबद्धता पनि जनाए ।

वीरगन्जलाई सभ्य, आकर्षक र जीवन्त बनाउन सडक कोरिडोर, डिभाईडरमा हरियाली प्रवद्र्धन, खुला ठाउँमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको वैज्ञानिक व्यवस्थापन र ऐतिहासिक सम्पदा एवं पोखरीहरूको सौन्दर्यीकरणसहित स्वच्छ, हरित र वैभव वीरगन्ज अभियान सञ्चालन गरिने मेयर सिंहले बताए ।

महानगरको शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सार्वजनिक विद्यालयलको दरबन्दी संरचना, विद्यार्थी अनुपात र भौतिक संरचनाबीच तादम्यता कायम गरिने जानकारी दिदैं भोजपुरी भाषा, संस्कृति, साहित्य र कलाको संरक्षण गर्न भोजपुरी प्रतिष्ठान लगायत त्यस क्षेत्रमा कार्य गर्ने विभिन्न संस्था र व्यक्तिहरुको सक्रियतामा प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरिने बताए।

नगरबासीको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यका लागि आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्ययामशाला, मनोरञ्जन स्थल पार्क लगायतका क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी रुपमा संचालन गरिने उनले बताए।
साथै उनले वीरगन्ज महानगर क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यमा नगर बस सेवा सञ्चालन गरिनेपनि उनले बताए।

बुधबारको विशेष नगरसभामा उपमेयर इम्तियाज आलम भने उपस्थित भएनन् । नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले नै मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो दलबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई बुधबारको विशेष नगरसभामा सहभागी नहुन ह्वीप नै जारी गरेको थियो ।

यद्यपति बुधबारको विशेष नगरसभामा हाल कायम १५६ नगरसभा सदस्यमध्ये बहुमतका लागि आवश्यक संख्या ५१ प्रतिशत भन्दा बढी नै अर्थात ११८ जना सहभागी भई मेयर सिंहले प्रस्तुत गरेको संशोधित बजेट बहुमतले पारितसमेत गरेको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

Related posts

वीरगन्ज महानगरले एक वर्षमा उठायो ६१ करोड ४७ लाख राजश्व

MadhesKhabar

‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगन्जबाट अयोध्याका लागि प्रस्थान

MadhesKhabar

वीरगन्जमा ९ दिने श्री विष्णु महायज्ञ हुदैं

MadhesKhabar

Leave a Comment