काठमाडौं,६मंसिरः प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि नेपाल वायुसेवा निगमको जहाजमार्फत् आइतबार नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
दिल्ली पुगेपछि उनको पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस.जयशंकरसँग होटल ताजमा हुनेछ। भारतस्थित नेपाली दूतावासकी प्रवक्ता अम्बिका जोशीले यसबारे जानकारी दिएका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा व्यापार,पारवहन,लगानी,ऊर्जा सहकार्य,सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका विषयमा छलफल हुनेछ।
हैदराबाद हाउसमा दिउँसो १२ बजेपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यसूची छ। प्रधानमन्त्रीद्वयले सोमबार नै अयोध्या–जनकपुर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। यस्तै,दिउँसो ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,परराष्ट्रमन्त्री शिशिर खनाल,प्रधानमन्त्रीका मुख्य सल्लाहकार,राजनीतिक सल्लाहकारलगायत उच्च अधिकारी सहभागी छन्। नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण टोली ३४ सदस्यीय रहेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन्।
त्यसैगरी,निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भारत गएका छन्।
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। त्यस्तै, शिक्षा, स्वास्थ्य,कृषि,खेलकुद तथा मानव संशाधनसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ।
यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्।
त्यसैगरी,प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। भ्रमणका अवसरमा नेपाल–भारत फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार काठमाडौं फर्किने कार्यतालिका छ।साभारः अन्नपूर्ण पोष्ट

