वीरगन्ज,१४ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको अहिलेको सरकार विदेशीहरुको इशारामा चलिरहेको आरोप लगाएका छन् ।
बुधबार वीरगन्जमा आयोजित नेकपा पर्साको पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार विदेशीहरूको इशारामा चलिरहेको र नेपाली जनताको हातबाट नेतृत्व उम्किने खतरा बढेको पनि बताए । नेपाल अहिले सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उनको भनाई थियो ।
उनले वैदेशिक शक्ति केन्द्रको प्रभाव र सरकारका स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरू एकजुट भएर सडक ,सदन र आगामी निर्वाचनमार्फत निर्णायक संघर्ष गर्नुपर्ने अवस्था आएको बताए । “संविधान र गणतन्त्र जोगाउन हामीले हिजो पनि मध्यरातिसम्म संघर्ष गरेका थियौँ, आज पनि खतराको घण्टी बजिरहेको छ ।” उनले भने । संविधान, गणतन्त्र तथा प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्तिहरुबीच एकता आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने,“मधेसका जनता क्रान्तिकारीका उत्तराधिकारी हुन् । त्यसैले वर्तमान निरंकुशता र सामाजिक अन्यायविरुद्ध फेरि एकपटक एकजुट भएर जाग्नुपर्ने समय आएको छ ।”
दुई–तिहाइको घमण्ड देखाउने वर्तमान सरकारले सत्तामा आउनेबित्तिकै सुकुम्बासीमाथि डोजर र बल प्रयोग गरेको तथा तराई–मधेसका साना व्यापारी र किसानहरूमाथि करको भार थपेर अत्याचार सुरु गरेको आरोप प्रचण्डले लगाए । विधि र प्रक्रिया मिचेर रातारात गिरफ्तारी गर्ने र लोकतान्त्रिक अधिकार खोस्ने काम भइरहेको उनको भनाइ थियो ।
२०८२ भदौं २३ र २४ को जेनजी विद्रोहको घटनालाई ध्वंसको संज्ञा दिदै प्रचण्डले अहिले सामाजिक सञ्जालको एल्गोरिदमले जनतालाई प्रभावित गरिरहेको बताए । “सोसल मिडियाको एल्गोरिदमले जनतालाई अफिमको नशाजस्तै बनाएको छ,” प्रचण्डले भने, “हामीले गरेका जनपक्षीय काम, पूर्वाधार विकास र सामाजिक न्यायका मुद्दा जनतामाझ सही ढंगले लैजान नसक्दा भ्रम पैदा भएको हो ।”
कार्यक्रममा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्तिहरुबीच एकता आवश्यक रहेको बताए । उनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बनाउने गरी सक्रिय हुन नेता तथा कार्यकर्तालाई आग्रहपनि गरे ।
नेकपा पर्साका संयोजक जयप्रकाश थारुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री एंव प्रतिनिधि सभा सदस्य मातृका यादव , नेकपाका मधेस प्रदेश इन्चार्ज महेन्द्रप्रसाद यादव, नेता रामकुमार भट्टराईलगायतले पनि सम्बोधन गरेका थिए ।

