वीरगन्ज,१४ असोजः नेपाली कांग्रेस पर्साका जिल्ला सदस्यसहित २७ जना नेताकार्यकर्ताले सामुहकि रुपमा कांग्रेस परित्याग गरेका छन् ।
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पर्सा क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन प्रकृयाप्रति असन्तुष्टी जनाउँदै जिल्ला सदस्य हिरालाल कानुसहित २७ जनाले कांग्रेसको साधरण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेका हुन् । कानु, २०४६ सालदेखि कांग्रेसमा आबद्ध थिए । दूई पटक कांग्रेसको बुथ सभापतिसमेत रहिसकेका कानु २०५४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा सदस्यसमेत निर्वाचित भएका थिए ।
बुधबार कांग्रेस पर्साका सभापतिलाई सम्बोधन गरि लेखिएको राजिनामा पत्रमा कानुसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १० कै सोनाल गुप्ता,वीरेन्द्र साह कानु, तिलक साह कानु, लक्ष्मण कानु, दिपक साह कानु,डा. जयकुमार गुप्ता, डा. राजकुमार गुप्ता, अनिता देवी गुप्ता, काजल कुमारी, भरत साह कानु,मुनिलाल साह कानु,सन्जय चौधरी, रोहित चौधरी,सरोजकुमार साह लगायत २७ जनाले पार्टी परित्याग गरेको उल्लेख छ ।
कांग्रेस पार्टीभित्र पछिल्लो समय देखिएका बेतिथिहरु सुधार गर्नुका सट्टा पार्टीमा वर्षौदेखि हालीमुहाली जमाउँदै आएका केहि नेताहरुमा नातावाद, कृपावाद र झोले प्रवृत्ति बढदै गएकोले आँफुहरुले सामुहिक रुपमा राजिनामा दिन बाध्य भएको कानुले बताए ।
कांग्रेसको आसन्न १५ औं महाधिवेशन अन्तर्गत पर्सा क्षेत्र नम्बर २ मा मंगलबार केहि समिति नेताहरु कोठाभित्र बसेर क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधिमा आफ्ना आफन्त र आसेपासहरुलाई मनोनित गरेपछि कांग्रेसको साधरण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेको राजिनामा दिएका नेताकार्यकर्ताहरुले बताएका छन् ।


