Madhes Khabar
राजनीति समाचार

प्रविधि र विद्यार्थी आन्दोलनको अनुभवसहित पेशागत तर्फ कांग्रेस केन्द्रीय सदस्यमा ई. सुदर्शन शर्माको उम्मेदवारी

मधेस खबर

वीरगन्ज २१ असोज:नेपाली कांग्रेसको पेशागत तर्फ केन्द्रीय सदस्य पदका लागि इन्जिनियर ई. सुदर्शन शर्माले उम्मेदवारी घोषणा गरेका छन्। ‘राष्ट्रियताः, प्रजातन्त्र, समाजवादको चिन्तन, पेशागत (खुला) केन्द्रीय सदस्य सुदर्शन’ भन्ने अवधारणासहित उनले पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

सरकारी विद्यालय हुँदै पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ तथा स्नातकोत्तर तहको शिक्षा पूरा गरेका शर्माले आफ्नो उम्मेदवारीलाई शिक्षा, विद्यार्थी आन्दोलन, सामाजिक सेवा र प्रविधिको अनुभवलाई पार्टी रूपान्तरणमा प्रयोग गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

शर्माले आफूले पुल्चोक क्याम्पसमा विद्यार्थी संगठनसँग जोडिएर काम गरेको र विद्यार्थी जीवनमै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन्। २०७२ सालको भूकम्पपछि पुनर्निर्माण तथा पुनःस्थापनाको काममा गाउँ–गाउँ पुगेर विपद्का समयमा जनताको वास्तविक समस्या र राज्य संयन्त्रबीचको दूरी नजिकबाट बुझ्ने अवसर पाएको उनको भनाइ छ।

इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङमा अध्ययन गरेका शर्माले प्रविधिलाई कांग्रेसको संगठन सुदृढीकरणसँग जोड्ने एजेन्डा अघि सारेका छन्। डिजिटल सदस्यता, पारदर्शी आन्तरिक निर्वाचन, एआईमा आधारित जनगुनासो प्रणाली, पार्टीका विचार तथा दस्तावेजको डिजिटल भण्डार, तथ्य जाँच र आर्थिक पारदर्शिताजस्ता विषयलाई उनले प्राथमिकतामा राखेका छन्।

उनले इन्जिनियर, डाक्टर, शिक्षक, कानुनविद् लगायत विभिन्न पेशागत क्षेत्रको ज्ञान र अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्दै कांग्रेसलाई ज्ञानमा आधारित राजनीतिक संगठनका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्।

शर्माका अनुसार बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवाद, लोकतन्त्र र राष्ट्रियताको मूल विचारलाई राजनीतिक आधार मानेर प्रविधि र नयाँ पुस्ताको ऊर्जालाई कांग्रेससँग जोड्न आवश्यक छ। उनका लागि प्रविधि विचारको विकल्प नभई विचारलाई नयाँ पुस्तासम्म पुर्‍याउने माध्यम हो।

सरकारी विद्यालयदेखि पुल्चोक क्याम्पस, विद्यार्थी आन्दोलनदेखि भूकम्पपछिको पुनर्निर्माणसम्मको अनुभवलाई राजनीतिक यात्रामा उपयोग गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको शर्माले बताएका छन्। प्रविधि, विद्यार्थी राजनीति तथा सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टी र समाजको हितमा प्रयोग गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

Related posts

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

MadhesKhabar

विकास र समृद्धिको पक्षमा मतदान गर्न डा. मधु गुप्ताको आग्रह

MadhesKhabar

पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गर्ने ७ जना पक्राउ

MadhesKhabar

Leave a Comment