वीरगन्ज,१८असोजःवीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाको छपकैयाका ३९ वर्षीय अमर चौधरी रहेका छन् ।
वीरगन्ज नाका हुदैं भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचना भारतीय सुरक्षाकर्मीले पाएका थिए । उक्त सूचनाका आधारमा एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले शनिबार साँझ सीमावर्ती क्षेत्रमा विशेष चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको शंकास्पद ई–रिक्सालाई रोकेर खानतलासी गर्दा रिक्साभित्र लुकाएर राखिएको बोराबाट २२ वटा कालो प्लास्टिकका प्याकेटमा प्याक गरिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको भारतीय सुरक्षा निकायले जनाएको छ।
चरेससहित पक्राउ परेका चौधरीलाई ई–रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।

