वीरगन्ज,१५ असोजः पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) सुशील साह कानुले वर्षौदेखि जीर्णोद्धारको पर्खाइमा रहेको वीरगन्जको नारायणी रंगशाला र टी.बी. शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसगँ माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद कानुले वीरुगन्जले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएकोभएपनि वीरगन्जमै रहेको देशकै दोस्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णोद्धारा र संगै रहेको टी.बी, शाह क्रिकेट मैदान निर्माणका लागि सरकारको प्रयाप्त ध्यान पुग्न नसकेको गुनासो गरे । उनले खेलकुद पूर्वाधारका क्षेत्रमा भने वीरगन्ज अझै उपेक्षित नै रहेको बताए ।
उनले नारायणी रंगङ्गशालाको जीर्णोद्धार र स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा त्यसका लागि सरकारलाई धन्यवाद दिए । तर उक्त रकम प्रयाप्त नभएको भन्दै उनले आगामी ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राख्दै वीरगन्जकै टी.बी शाह क्रिकेट मैदान निर्माणका लागिपनि आवश्यक बजेट तत्काल सुनिश्चित गरिदिन सरकारसगँ माग गरे ।
साथै नारायणी रंगशाला तथा क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जासम्बन्धी विषयलाई पनि यथाशीघ्र सम्बोधन गरिदन आग्रह पनि उनले गरे ।सम्बन्धित जग्गाधनीहरू सरकारले तोकेको मुआब्जा रकम लिएर आफ्नो जग्गा छाड्न तयार भए पनि मुआब्जा रकम यकिन गर्नुपर्ने फाइल एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा रोकिएको भन्दै उनले यसबारेमा सरकारको ध्यानाकर्षण गराए ।
जग्गा मुआब्जाको प्रक्रिया लामो समयसम्म अल्झिँदा रंगशाला तथा क्रिकेट मैदानसँग सम्बन्धित पूर्वाधार विकासको काम प्रभावित भइरहेको भन्दै रास्वपा सांसद कानुले सरकारले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने माग गरे ।

