विराटनगर,२४जेठ: भारतकाे मणिपुरको विष्णुपुर जिल्लामा गत अप्रिल ७ तारिखमा भएको बम आक्रमणमा दुई बालबालिकाको मृत्यु भएपछि भड्किएको हिंसा झन् चर्किएको छ। उक्त घटनामा तीन जनाको ज्यान गएको थियो । त्यसयता राज्यका विभिन्न क्षेत्रमा हिंसात्मक घटना निरन्तर भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१३ मे २०२६ मा पुनः आदिवासी समुदायका तीन जना इसाई नेताको हत्यापछि हिंसात्मक आन्दोलन फेरि चर्किएको हो । चुराचाँदपुरमा आयोजित इसाई सम्मेलनबाट कांगपोकपी जिल्लातर्फ फर्किंदै गरेका कुकी समुदायका उनीहरूमाथि आक्रमण भएको थियो ।
मणिपुरमा रैथाने मेतेई र आदिवासी कुकी समुदायबीच ३ मे २०२३ मा जातीय हिंसा सुरू भएको थियो । त्यसअघि अप्रिल २०२३ मा उच्च अदालतले मेतेई समुदायलाई अनुसूचित जनजाति (एसटी) सूचीमा समावेश गर्ने विषयमा सरकारलाई विचार गर्न आदेश दिएको थियो । त्यसपछि पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी कुकी र नागा समुदायले आफ्नो भूमि र अधिकार जोखिममा पर्ने भन्दै विरोध सुरू गरेका थिए । त्यही पृष्ठभूमिमा भड्किएको हिंसा तीन वर्षपछि पनि रोकिएको छैन ।
यसबीच पछिल्लो एक महिनामा नागा–कुकीबीचको सशस्त्र द्वन्द्वमा करिब दुई दर्जनभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा दुवै समुदायका छन् । कुकी सशस्त्र समूहहरूप्रति केन्द्र सरकारले नरम नीति अपनाएको आरोप नागा संगठनहरूले लगाउँदै आएका छन् ।

