वीरगन्ज,२३असोजःवीरगन्जको आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पसमा बन्द रहेको पठनपाठन भोलि (शुक्रबार) देखि सुचारु हुने भएको छ ।
क्याम्पस प्रमुख किशोरी प्रसाद यादवले आज (बिहीबार) अपरान्ह एक सूचना जारी गर्दै क्याम्पसको पठनपाठन शुक्रबारदेखि नियमित रुपमा सुचारु हुने जानकारी गराएका हुन् ।
यसअघि आजै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई ज्ञापनपत्र बुझाउँदै क्याम्पसको पठनपाठन यथाशीघ्र सुचारु गराउन माग गरेको थियो ।
क्याम्पस प्रशासन र सञ्चालक समितिको आन्तरिक विवादले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीहरुले लामोसमयदेखि तलबभत्ता नपाएपछि क्याम्पसमा गत भदौं १ गतेदेखि नै पठनपाठन अवरुद्ध थियो। शिक्षक र कर्मचारीहरु तलब भत्ताको माग गर्दै आन्दोलनरत छन् भने विद्यार्थीहरुले पठनपाठन सुचारु गर्न माग गर्दै धर्ना लगायतका प्रदर्शन गर्दै आइरहेका छन् ।


