वीरगन्ज,२०असाेज:नेपालले कतारलाई पराजित गरेकाे छ।ओमानमा साेमबार भएको अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेकाे हाे।
नेपालले दिएकाे १७१ रनकाे लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कतारले पुरा २० ओभरमा ६ विकेट गुमाएर १७४ रनमात्र बनाउन सक्याे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियाे।
नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनिङ ब्याटर कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५६ रन बनाए। अर्का ओपनर आसिफ शेख ११ रन तथा कप्तान रोहितकुमार पौडेल ८ रनमा आउट भएका थिए।
दीपेन्द्रसिंह ऐरीले २१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाउँदा कुशल मल्लले पनि नटआउट ३८ रन नै जोडे। कुशलले २९ बलमा १ चौका र २ छक्का हिर्काए।
सन्दीप जोरा १ रन र लोकेश बम २ रनमा आउट भए भने आरिफ शेखले ९ बलमा १३ रन बनाए।
बलिङमा कतारका शारिक मुनिर र इक्रामुल्लाहले २-२ विकेट लिए।
नेपालले पहिलो अभ्यास खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको थियो।
नेपाल युएईमा वेस्ट इन्डिजमाथि २-१ ले सिरिज जितेर ओमान पुगेको हो।
ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। नेपालले कुवेतसँग आगामी बुधबार र जापानसँग शुक्रबार खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ। सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।
ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।
तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।

