Madhes Khabar
पर्यटन

प्रवर्द्धन हुन सकेन मधेस प्रदेशको एकमात्र निकुञ्ज ‘पर्सा राष्ट्रिय निकुञ्ज’

बारा,१८जेठःभर्जिन निकुन्ज मानिने पर्सा राष्ट्रिय निकुञ्ज प्रवद्र्धन हुन नसक्दा चालु आर्थिक वर्षको जेठको दोस्रो हप्तासम्म १५ जना विदेशी(तेस्रो मुलुकका) पर्यटकले मात्रै अवलोकन गरेका छन् । प्रशस्त प्राकृतिक, मनमोहक दृश्य, दुर्लभ वन्यजन्तु, ऐतीहासिक स्थल रहेको पर्सा राष्ट्रिय निकुञ्ज प्रवद्र्धन नहुँदा जर्मन, बेलायत र चीनका गरी सात महिला र आठ पुरुषसहित १५ जना विदेशी पर्यटकले ममात्र यो वर्ष निकुन्ज अवलोकन गरेका छन् ।

जेठ दोस्रो हप्तासम्म जम्मा १५ जना विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेको र उनीहरुबाट २२ हजार पाँच सय टिकट शुल्क प्राप्त भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए । उनले गत आर्थिक वर्ष निकुन्जमा आउने विदेशी पर्यटकको संख्या ३२ जना रहेकोमा चालू आर्थिक वर्ष घटेर १५ जना पुगेको जानकारी दिए ।

निकुन्जका अनुसार यस वर्ष अवलोकन गरेका ४७७ जनामध्ये विदेशी पर्यटक १५, सार्क मुलुकका ८४ र ३७८ जना नेपाली आन्तरिक पर्यटक रहेका छन् । निकुञ्जमा नेपाली नागरिकका लागि एक सय रुपैयाँ, सार्क मुलुकका नागरिकलाई ७५० रुपैयाँ र अन्य विदेशीका लागि एक हजार पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

प्रकृतिमा आधारित पर्यटनलाई बारा, पर्सा र मकवानपुर जोडिएको निकुन्जको प्रर्वद्धन गर्न प्रदेश तथा स्थानीय सरकारले प्राथमिकतामा नराख्नु चिन्ताको विषय बनेको बताउँदै नाट्टाका मधेश प्रदेश अध्यक्ष मोहन शर्माले भने, ‘प्रदेश, स्थानीय सरकारले मठ, मन्दिर, चर्च र मस्जिद, पोखरी, धर्मशाला निर्माणलाई पर्यटकीय आधार बुझ्दा निजी क्षेत्रको एक्लो प्रयास विफल बन्दै गएको छ ।’

निकुन्ज प्रवद्र्धन गर्न भारतको बिहार राज्य लक्षित त्यहाँका शहरमा प्रचार कार्यक्रम, भेटघाट, पर्यटकीय निम्तालगायतका कार्यक्रम गर्नुपर्ने र तिर्नै जिल्लामा निकुन्ज चिनाउने गरी उत्सव, महोत्सवलगायतको प्रर्वद्धनात्मक कार्यक्रम गर्न सके पर्यटकको संख्या बढ्ने र यसको लाभ स्थानीयदेखि प्रदेशसम्मले पाउने शर्माको भनाइ छ ।

चितवन र पर्सा निकुञ्जलाई एउटै क्षेत्रभित्र समेटेर चितवनमा टिकट काटेर निकुञ्ज प्रवेश गरेको पर्यटकले पर्सा निकुञ्जपनि घुम्न सक्ने र पर्सामा टिकट लिएको पर्यटकले एउटै टिकटबाट चितवनसम्म पनि घुम्न सक्ने वातावरण बनाउन गत वर्षदेखि नै नीतिगत तहमा पुगेको कार्ययोजना हालसम्म निर्णय हुन नसकेको निकुन्जले जनाएको छ ।

मधेस प्रदेशको एक मात्र निकुन्ज मुलुकको मुख्य सीमा नाका, आर्थिक नगरी, औद्योगिक करिडोर, ठूला व्यापारी घरानाहरूको क्षेत्र रहेको बारा–पर्सा दुवै जिल्ला जोडेको छ । निकुन्ज प्रर्वद्धन गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले चालु आर्थिक वर्षमा कुनै योजना तर्जुमा गरेनन् भने आगामी बजेटमा निकुन्ज लक्षित कार्यक्रम र पूर्वाधार विकासमा रकम विनियोजन गर्न नाट्टाका मधेस प्रदेश अध्यक्ष शर्माले आग्रह गरेको बताए ।

जीतपुरसिमरा उपमहानगरले तीन वर्षअघिदेखिको योजना पर्सा निकुञ्जभित्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जंगल सफारीका लागि गाडी खरिद गर्ने तथा निकुञ्ज घुम्ने पर्यटकका लागि अम्लेखगञ्जमा हाइकिङ ट्रेल निर्माण गर्ने योजना हालसम्म कार्यान्वयन गर्न सकेको छैन ।प्रकाश लम्साल/कारोबार

 

Related posts

पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या बढ्दै

MadhesKhabar

वस्ती खालि भए मात्र निजगढ विमानस्थलका लागि रुख काट्ने अनुमति दिन्छौ : वन मन्त्री यादव

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment