
वीरगन्ज,२२माघ: बाराबाट ३ बर्षका एक बालक ६ दिनदेखि बेपत्ता भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ जितपुरकाे शान्तिटाेलका रन्जित जैसवालको घर अगाडिबाट उनका भान्जा तीन वर्षीय बालक अंश बेपत्ता भएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नम्बर-१ रितेश चौधरी जयसवालका तीन वर्षीय छोरा अंश चौधरी जयसवाल बेपत्ता भएका हुन् ।
माघ १७ गते बिहान जैसवालको घर अगाडि खेलिरहेका अंश एकाएक बेपत्ता बनेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
उनले भने, “बिहान ९ बजेतिर घर अगाडि खेलिरहेका तीन वर्षीय अंश बेपत्ता भए, त्यसपछि फेला नपरेपछि हामी कहाँ खबर आयो । अनि त्यही दिनदेखि हामी पनि खोजबिन गर्दैछौं ।तर अहिलेसम्म फेला पार्न सकिएको छैन ।”
प्रहरीका अनुसार अंश गएको २ महिनादेखि शान्तिटाेल सणथित मामाघरमा बस्दै आएका थिए । जैसवाल बालक अंशका मामा हुन् । रातो कलरको हुड र निलाे रङ्गको पाइन्ट लगाएको अवस्थामा अंश माघ १७ गतेदेखि सम्पर्कविहीन भएको बारा प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएको दिनदेखि परिवारजनको समन्वयमा अंशको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।
यसैबीच मंगलबार अंशकाे मावलीघरमा पुगेका बारा-४ का सांसद किसान श्रेष्ठले ६ दिनदेखि बेपत्ता अंशलाई २४ घण्टाभित्र सकुशल ल्याएर परिवारकाे जिम्मा लगाउन प्रहरीलाई निर्देशन दिएका छन्।