
वीरगन्ज,८कार्तिक:नेपाल साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ।काठमाडौंकाे दशरथ रंगशालामा बिहीबार भएकाे खेलमा श्रीलंकालाई ६-० को फराकिलो गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर नेपाल सेमिफाइनलमा स्थान सुरक्षित गरेको हाे।
खेलको पहिलो हाफमा नै नेपालले ४-० को अग्रता लिएको थियो। सातौं मिनेटमा सविता राना मगरले नेपालका लागि पहिलो गोल गर्दै खेलमा अग्रता दिलाइन्। त्यसको चार मिनेटपछि सावित्रा भण्डारी सम्बाले दोस्रो गोल थपिन्। १३ औं मिनेटमा रेखा पौडेलले तेस्रो गोल गर्दै नेपाललाई ३-० को स्थितिमा पुर्याइन्। खेलको ३५ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता ४-० बनाइन्।
दोस्रो हाफको सुरुवातमै, ४६ औं मिनेटमा अमिषा कार्कीले हेडिङ मार्फत गोल गर्दै नेपाललाई ५-० को स्थितिमा पुर्याइन्। खेलको अतिरिक्त समयमा, ९३ औं मिनेटमा रस्मी कुमारी घिसिङले गोल गर्दै नेपालको जितलाई ६-० को फराकिलो अन्तरमा पुर्याइन्।
नेपालले अब सेमिफाइनलमा भारतसँग आइतबार प्रतिस्पर्धा गर्नेछ।