वीरगन्ज,२फाल्गुन : पर्साको पटेर्वासुगौली गाउपालिकामा रहेका सामुदायिक विद्यालयमा सरस्वती पूजाको खर्च जुटाउने बहानामा विद्यार्थीहरुको दिवा खाजा कार्यक्रम रोकिएको छ भने विद्यार्थीहरुबाट मनलाग्दी चन्दापनि उठाइएको छ ।
पटेर्वासुगौली गाँउपालिका कूल २४ वटा सामुदायिक विद्यालय रहेका छन् ।अनुगमनका क्रममा प्राय सबै विद्यालयमा विगत एक साता देखि दिवा खाजा कार्यक्रम रोकिएको भेटिएको हो ।
बुधबार परेको सरस्वती पूजा मनाउनका लागि खर्च जुटाउन भन्दै प्रधानाध्यापक र शिक्षकहरुले दिवा खाजा कार्यक्रम रोकेर त्यसको रकम पूजामा खर्च गरेका हुन् । यसका अतिरिक्त विद्यालयहरुमा प्रधानाध्यापक र शिक्षकहरुले पूजाका लागि चन्दा भन्दै विद्यार्थीहरुबाट कक्षागत अनुसार ५० देखि २ सय रुपैया रकमपनि असुलेका छन् ।
पटेर्वासुगौली गाउपालिका वडा नम्बर ३ सोनवर्षमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कूल २३७ जना विद्यार्थी अध्ययनरत छन् ।उक्त विद्यालयमा गत बुधबारदेखि नै दिवा खाजा रोकिएको छ भने विद्यार्थीहरुबाट १ सय देखि २ सय रुपैयाँ शिक्षकहरुले सरस्वती पूजाको लागि चन्दा उठाएको कक्षा ५ मा अध्यनरत विद्यार्थी गुडडु मियाँले बताए ।विद्यालयका प्रधानाध्यापक राजेश गिरिले भने विद्यालय व्यवस्थापन समितिकै सल्लाह अनुसार दिवा खाजा रोकेको प्रतिक्रिया दिए।
वडा नम्बर ३ कै रामभौरी भाथामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यधालयमा पनि विगत एक साता देखि दिवा खाजा रोकिएको कक्षा ४ मा अध्यनरत विद्यार्थी रामबाबु महतोले बताए ।यस बारे प्रतिक्रिया लिन खोज्दा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद रौनियारले दिवा खाजा नरोकिएको दाबी गरेपनि त्यहि विद्यालयकी एक शिक्षिकाले सरस्वती पुजाको लागि केही दिनदेखि दिवा खाजा बन्द गरिएको स्वीकारीन् ।
यस्तै मनिहर्वामा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा २४९ जना विद्यार्थी अध्यनरत छन्। उक्त विद्यालयमा गत शुक्रबारदेखि दिवा खाजा बन्द गरिएको र पूजाका लागि विद्यार्थीहरुबाट ५० देखि १ सय ५० रुपैया चन्दा उठाइएको कक्षा ५ मा अध्यनरत छात्र राजकरण साह कानुले मधेसखबरलाई बताए । विद्यालयका प्रधानाध्याापक हरिराज प्रसाद यादवले भने विद्यालय व्यवस्थापन समिति र अभिभावकको बैठक बसेर केही दिनका लागि मात्र दिवा खाजा बन्द गरेर त्यसको रकम सरस्वती पूजामा लगाउने निर्णय गरेको प्रतिक्रिया दिए।
गादिमाई आधारभुत विद्यालय पश्चिम देकुलिमा १ सय ३३ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमापनि सरस्वती पूजाका लागि खर्च जुटाउन एक साता देखि दिवा खाजा नखुवाइएको र विद्यार्थीहरुबाट ५० देखि १ सय ५० रुपैया चन्दा संकलन गरिएको कक्षा ४ मा अध्यनरत विद्यार्थी दिनेश माझीले मधेसखबरलाई बताए ।यसबारे प्रतिक्रिया लिन विद्यालयका प्रधानाध्यापक मन्तुरादेवी चौधरीलाई सम्पर्क गर्न विद्यालयमा उनी अनुपस्थित रहेको र फोनमा सम्पर्क प्रयास गर्दा उनको फोन उठेन ।
९८ जना विद्यार्थी अध्ययनरत रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुर्बी देकुीलमापनि एक सातादेखि दिवा खाजा रोकिएको र पूजाका लागि विद्यार्थीहरुबाट शिक्षकहरुले चन्दापनि उठाएको कक्षा ३ मा अध्यनरत विद्यार्थी हरि शंकरले मधेसखबरलाई जानकारी दिए । विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद ओझैयाले भने विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षको निर्देशन अनुसार नै दिवा खाजा रोकेर त्यसको रकम पूजाका लागि खर्च गरिएको बताए । विद्यार्थीहरुबाट चन्दा भने नउठाइएको उनले बताए ।
यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेलवा , नेपाल राष्ट्रिय माध्यमिक बिधालय निचुटा लगायतका विद्यालयहरुमा पनि पूजाका लागि दिवा खाजा रोक्नुका साथै विद्यार्थीहरुबाट चन्दा भन्दै रकम उठाइएको अभिभावकहरुले बताएका छन् ।
विद्यालयहरुमा एक सात देखि पूजाको नाममा विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम रोकिएको भएपनि गाँउपालिकाका जनप्रतिनिधी र कर्मचारी भने बेखबर छन् ।पालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पन्जियारले पालिकामा रहेका सामुदायिक विद्यधालयले पूजाको बहानामा विद्यार्थीहरुको दिवा खाजा रोकेको बारे आँफु बेखबर रहेको प्रतिक्रिया दिए । यस बारेमा अनुगमन गरेर बदमाशी गर्ने प्रधानाध्यापक र शिक्षकहरुलाई कारबाही गर्ने उनले बताए ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले कार्यव्यस्तताका कारण केही समयदेखि विद्यालयहरुको अनुगमन गर्न नभ्याइएकोे बताए । उनले भने,‘ के कति कारणले दिवाखाजा रोकिएको हो यस बारे सत्यतथ्य बुझ्छौ । खाजा रोक्ने विद्यालयलाई कारबाही हुन्छ ।

