वीरगन्ज,२६ साउन : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगन्ज पब्लिक कलेजमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रकाश पटेल र कविता वाचन प्रतियोगितामा स्तिमा चौधरी प्रथम भएका छन् ।
कलेजका कक्षा १२ का विद्यार्थीहरुले आयोजना गरेको ‘राजनीतिमा युवा’ विषयक वक्तृत्वकला प्रतियोगितामा पटेल प्रथम भएका हुन् । वक्तृत्वकला प्रतियोगितामा अब्दुल सिद्धिकी द्वितिय र मुस्कान सर्राफ तृतिय भएकोे कलेजका संयोजक वासु कर्णले जानकारी दिए । यस्तै कविता प्रतियोगितामा राजकुमार सिंह द्वितिय भएको कर्णले बताए ।
प्रतियोगिताको निर्णयक मण्डलमा ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक एंव चित्रकार तथा साहित्यकार शंकरमान श्रेष्ठ र वीरगन्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ रहेका थिए ।
कलेजका प्रधानाध्यापक हरिरत्न तुलाधरको अध्यक्षतामा भएको प्रतियोगितामा पत्रकार कविता खड्का, सूर्य विक, भोलेन्टियर समूहका संयोजक राजन श्रीवास्तव, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता लगायतकोपनि उपस्थिती थियो ।