Madhes Khabar
राजनीति

जसपा र लोसपाको सहयोग खोज्दै सिके राउत: चुनावी सहकार्यको प्रस्ताव

मधेसखबर

वीरगन्ज,२२ साउन : जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहकार्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसमक्ष प्रस्ताव राखेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका राउतले लोसपा र जसपा अध्यक्षहरूसँग भेटेर चुनावी सहकार्यको प्रस्ताव गरेका हुन् ।

आगामी निर्वाचनमा कसरी सहकार्य गरेर अगाडि बढ्ने भन्नेबारे ठाकुर र यादवसँग छलफल गरेको आइतबार राउतको सचिवालयले जानकारी दिएको हो । सामाजिक सञ्जालमार्फत ठाकुर र यादवसँग केही दिन पहिले राउतले भेट गरेर उक्त प्रस्ताव राखेको भनिएको छ ।

राउतको सचिवालयले भनेको छ  ‘आगामी निर्वाचनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चर्चा पनि भएको हो । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि विभिन्न चरणको संवाद जारी छ । एकातिर ५-७ ठूला दलहरूको गठबन्धन हुने भएपछि जनमत पार्टी एक्लै, कसैसँग कुनै सहकार्य नै नगरी जानु स्थानीय निर्वाचनमा झैं आत्मघाती हुन सक्छ । त्यसैले जिल्ला/निर्वाचन क्षेत्रअनुसार समझदारी र सहकार्य हुनसक्ने सम्भावना पनि छ,’  ।

सिके राउतले आफू जन्मे/हुर्केको क्षेत्र भन्दै प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ बाट उम्मेदवार बन्ने सार्वजनिक गरेका थिए । २०७४ सालको निर्वाचनमा उपेन्द्र यादव निर्वाचित भएको क्षेत्रमा राउतले दाबी गरेपछि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा हुन लागेको थियो । त्यो विषयलाई लिएर पनि राउतले सचिवालयमार्फत प्रतिक्रिया दिएका हुन् ।

 

‘जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र बदल्दै आउनुभएको छ । उहाँ पहिला मोरङ, पछि सुनसरी, त्यसपछि सप्तरी आउनुभएको हो र यसपालि सप्तरीबाट लड्नुहुन्न भनेर चर्चा हुँदै आएको छ,’ राउतको सचिवालयले भनेको छ, ‘जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि केही दिन अगाडि डा. राउतको निकै सकारात्मक भेटघाट भएको हो । उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा. राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छौं ।’

राजनीतिमा कामअनुसार समर्थन, विरोध र सकहकार्य अपरिहार्य भएको भन्दै सप्तरी २ बाट राउत उम्मेदवार बन्ने कुरालाई यादवको विरुद्ध भएको भनेर चर्चा गरिनु उपयुक्त नभएको राउतको सचिवालयको भनाइ छ

Related posts

गणेशमान सिंहको स्मृति दिवसमा कांग्रेसद्वारा वीरगन्जमा “प्रवचन” कार्यक्रम

MadhesKhabar

वीरगन्ज निवासी भूतपूर्व एसएसपी अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश

MadhesKhabar

चुनावी नतीजाले पर्सामा माओवादीको अस्तित्व संकटमा

MadhesKhabar

Leave a Comment